अवैध लागूऔषध सहित प्रहरीले विभिन्न जिल्लाबाट १४ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने पाँचथर फिदिम नगरपालिका-१४ घर भएका ३० वर्षीय रबिन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग गौँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका-५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको भन्ने खुल्न आएपछि रबिनाको कोठामा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८९ हजार ५ रूपैयाँ फेला पारी रबिनालाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रूपैयाँ सहित सोही नगरपालिका-५ पाँगा बसपार्क बस्ने ३७ वर्षीय संजिप कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०४३ प ९५४१ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २७ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ धर्मपुर बस्ने ३६ वर्षीय नारायण बजगाई र २६ वर्षीय युवराज ढकाल रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी झापा, हल्दीबारी गाउँपालिका-३ मेजरनी चोक बस्ने २६ वर्षीय सनम गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले सनमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ११ किलो ७ सय ३४ ग्राम सहित चितवन राप्ती नगरपालिका-१३ बस्ने ३१ वर्षीय मनिष प्रजालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.२८ प ८६२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पक्राउ गरेको हो।
बर्दिया, बारबर्दिया नगरपालिका-६ कोठारपुरबाट अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय निशान चौधरी र सोही नगरपालिका-६ मानपुर बस्ने १९ वर्षीय रोहित चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित औरही गाउँपालिका-८ बस्ने २२ वर्षीय बिकि मण्डललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-२ सुगौलीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय ४५ एम्पुल, बुप्रेनोर्फिन ६ सय ४५ एम्पुल र फेनारगन ६ सय ४५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ अमानिगंज बस्ने २५ वर्षीय सोहित कम्कर र सरावल गाउँपालिका-७ भुजहवा बस्ने २३ वर्षीय मोहम्मद अब्जल अन्सारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले युपी ५६ एफ ९७२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
रूपन्देही, रोहिणी गाउँपालिका-७ टिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७६ एम्पुल, प्रोमेथाजाइन ६१ एम्पुल र डाइजेपाम ७३ एम्पुल सहित सोही गाउँपालिका-२ पोखरभिण्डा बस्ने २१ वर्षीय राज चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मैनीहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो।
दाङ, घोराही उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुरेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रकाशित: ३० असार २०८३ १४:५३ मंगलबार