अर्थ

विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

चामुण्डाविन्द्रासैनी ६ मा जडित बिजुली लाइन। तस्बिर: गोविन्द केसी

गाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीय हर्षित भएका छन्। पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको हो।

बत्ती आउला र उज्यालो गाउँ होला भनेर आफूहरूले नसोचे पनि गाउँमा बत्ती आउँदा आफूहरू खुसी भएको चामुण्डाविन्द्रासैनी ९ का स्थानीय शमशेरबहादुर रोकायले बताए। ‘गाउँमा विकास हुन समय लाग्ला झैं लागेको थियो।’ स्थानीय रोकायले भने, ‘विकासका सबै कुरा गाउँमै भए बस्ती सर्ने काम पनि अब रोकिने छ।’

विगतमा सदरमुकाम र आसपास मात्र बिजुली पहुँच रहेको थियो। स्थानीय तह स्थापना भएसँगै गाउँगाउँमा बिजुली लाइन विस्तार भएका छन्। जसले गर्दा नागरिकमा विकासको प्रत्याभूति भएको छ।

बिजुली पुगेपछि वडावासीमा खुसी छाएको वडा ९ का वडाध्यक्ष प्रेम रावलले बताए। सीमित बजेट, आवश्यकता बढी हुँदा गाउँमा भनेजस्तो विकास हुन नसकेको जनप्रतिनिधि बताउँछन्।

उज्यालोका लागि दियालो, टुकी हुँदै सोलारसम्म भोगेका ग्रामीण बस्तीका नागरिकले बिजुलीबाट उज्यालोको पहुँचमा पुगेका छन्। बिजुली पुगेसँगै गाउँमै सानातिना उद्योग चलाउनसमेत सहज हुनेछ वडा ६ का वडाध्यक्ष बलिराम खड्काले बताए।

स्थानीय तह भएसँगै गाउँगाउँमा स्वास्थ्य, उच्च शिक्षा, सडक, खानेपानीलगायतका पूर्वाधार निर्माण भइरहेका छन्। हिजोआज इन्टरनेटसमेत गाउँगाउँमा पुगेको छ। रोजगार र उत्पादनमा कमी भइरहेकाले स्थानीय वडा र पालिका सरकारले उत्पादन बढाउन लागेमा बस्ती सर्न रोकिने छ।

भौगोलिक रूपमा विकट भए पनि बिजुली गाउँगाउँमा पुर्‍याउन सफल भएको विद्युत् केन्द्र दैलेखका प्राविधिक प्रेम विष्टले बताए। दैलेखका प्रायः गाउँ विद्युतीकरण भइसकेका छन्।

प्रकाशित: २९ मंसिर २०८० ०६:४७ शुक्रबार

चामुण्डाविन्द्रासैनी नगरपालिका बिजुली पुग्दा स्थानीय हर्षित पश्चिम दैलेख मष्टामान्डु र डौंसुर गाउँ