अर्थ

कोशी प्रदेश जिससबाट सात लाख राहत

कोशी प्रदेशका जिल्ला समन्वय समिति (जिसस) हरूले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्प पीडितलाई ५० हजार रूपैयाँका दरले सहयोग गर्ने भएका छन्।

जिसस कोशी प्रदेशस्तरीय सञ्जालको बैठकले ५० हजार रूपैयाँका दरले सात लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको जिसस कोशी प्रदेश सञ्जालका उपाध्यक्ष तथा जिसस ताप्लेजुङका प्रमुख छिरिङ लामाले जानकारी दिए। कोशी प्रदेशमा १४ जिल्ला छन्।

जिसस प्रदेशस्तरीय सञ्जालले भूकम्प पीडितहरूको राहत, उद्धार र पुनर्वासका लागि आफ्नो भूमिका थप सक्रिय बनाउन नेपाल सरकार र प्रदेश सरकारसमक्ष माग पनि गरेको छ।

आगामी पुस १३ गते भोजपुरमा सञ्जालको तेस्रो बैठक बस्ने निर्णय भएको लामाले जानकारी दिए। यता नेपाली कांग्रेस ताप्लेजुङले भूकम्प पीडितका लागि ४० हजार रूपैयाँ सहयोग गरेको छ।

भूकम्प पीडितलाई थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने भावनाले विपद् व्यवस्थापन कोषमा सो रकम जम्मा गरिएको कांग्रेस केन्द्रीय प्रचार विभाग सदस्य शिला इजमले जानकारी दिइन्।

प्रकाशित: २६ कार्तिक २०८० ०६:१७ आइतबार

भूकम्प पीडित नेपाली कांग्रेस ताप्लेजुङ कोशी प्रदेशका जिल्ला समन्वय समिति (जिसस) हरू