अर्थ

नाफा गुमाउँदै वाणिज्य बैंक

सुदर्शन सापकोटा, काठमाडौं, जेठ १०- दशैंपछि देखिएको तरलता अभावका कारण वाणिज्य बैंकहरुको मुनाफा अनुपात घटेको छ। चुक्ता पुँजी र जगेडा कोषको अनुपातमा गत वर्ष चैतको तुलनामा चालु वर्षको यसै अवधिमा बैंकको मुनाफा साढे १६ प्रतिशत विन्दुले घटेको हो। चुक्ता पुँजी र जगेडा कोष भने साढे ८४ प्रतिशतले वढेको छ।

चुक्ता पुँजी र जगेडा कोषको अनुपातमा गत वर्ष बैंकले साढे ३८ प्रतिशत नाफा कमाएकोमा यो वर्ष २२ प्रतिशतमा झरेको छ। 'चार महिनाको अवधिमा तरलता अभावले बैंकहरुको पुँजी लागत वढेकाले नाफाको दर घटेको हो,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले नागरिकन्युजसँग भने।

गत वर्ष चैतको तुलनामा चालु वर्षको यसै अवधिसम्म आइपुग्दा तरलता अभावको मारमा परेका बैंकको पुँजी र जगेडा कोष वृद्धिको अनुपातमा नाफा घटेको हो। नाफा मात्रै गणाना गर्दा भने यो साढे सात प्रतिशतले बढेको देखिन्छ। गत वर्ष चैतमा बैंकले ९ अर्व ६८ करोड रुपैयाँ नाफा गरेका थिए। यो बर्षको चैतमा नाफा १० अर्व २४ करोड रुपैयाँ पुगेको छ।

सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य र नेपाल बैंकको जगेडा कोष ऋणात्मक भएकाले प्राथमिक पुँजीको अनुपातमा यी कम्पनीको नाफा पनि ऋणात्मक नै देखिन्छ। तर दुई वर्षको नाफालाई मात्र गणाना गर्दा यो क्रमशः १९ र ३२ प्रतिशतले घटेको छ।


सस्तोमा लिएको निक्षेप अवधि पुगेपछि महंगो व्याजमा नविकरण गर्नु परेको, राजनीतिक गतिरोध र असुरक्षाले उद्योग व्यवसाय धरासयी भएको र पुँजी लागत वढेकाले नाफाको दर घटेको खत्रीले जानकारी दिए। 'राजनीतितर्फ मात्र केन्द्रित भएर अर्थतन्त्रलाई वेवास्ता गर्दा निस्किएको प्रतिफल हो यो,' उनले भने, 'यस्तो अवस्थामा नाफाको वृद्धिदर घट्नु स्वभाविक हो।'

चुक्ता पुँजी र जगेडा कोषको अनुपातमा बैंक अफ काठमाण्डू, ग्लोबल, लुम्बिनी, नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी), नेपाल एसबिआइ, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास र हिमालयन बैंकको नाफाको वृद्धिदर घटेको छ। यि बैंकले एक वर्षको अवधिमा पुँजी तथा जगेडा कोष वृछि गरेपनि दशैंपछि देखिएको तरलता अभावले थप लगानी गर्न नसक्दा बैंकको नाफाको वृद्धिदर घटेको हो।

तरलता अभावले गर्दा गएको चार महिनादेखि बैंकहरुले नयाँ कर्ज प्रवाह बन्द गरेका छन्। साथै बैंकका लागि भरपर्दो रियलस्टेट तथा हाउजिङ कर्जामा पनि केन्द्रिय बैंकले सिमा तोकेपछि लगानी विविधीकरण गर्न नसक्दा नाफाको अनुपात घटेको हो।

यद्यपी बैंकको नाफा मात्रै भने वढेको छ। एक वर्षको अवधि पुरा गर्ने २६ वाणिज्य बैंकमध्ये ६ बैंकको नाफा मात्रै घटेको छ। जनता बैंक नेपाले गत चैत २३ गतेदेखि कारोवार गरेकाले यो बैंकको विवरण उल्लेख गरिएको छैन। नाफा घट्नेमा हिमालयन, नेपाल बंगलादेश, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, कृषि विकास र लुम्बिनी बैंक छन्। यि बैंकको नाफा ३३ देखि ६ प्रतिशतसम्मले घटेको उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ।

चैतसम्म आइपुग्दा सबैभन्दा वढी नाफा बैंक अफ काठमाडौं नेपालले कमाएको छ। बैंकको नाफा गत वर्षको चैतको तुलनामा यो वर्षको यसै अवधिमा ३ सय ४० प्रतिशतले वढेको छ। माछापुच्छ्रे, प्राइम, सिटिजन्स र सनराइज बैंकको नाफा १ सय प्रतिशतभन्दा माथि छ। यो अवधिमा आधा दर्जन वाणिज्य बैंकले गैरबैंकिङ सम्पति विक्री गरेर नाफा वढाएका छन्।

प्रकाशित: १० जेष्ठ २०६७ ०४:०६ सोमबार