इटहरी उपमहानगरपालिकाले भूमि करमा वृद्धि गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले दिनहु प्रदर्शन गर्दै आएको छ।
वृद्दि भएको कर समायोजन गर्न दबाबका लागि हरेक दिन उपमहानगरपालिका अगाडि प्रदर्शन गर्ने गरेको हो।
यसरी हरेक दिन दैनिक एक घण्टा उपमहानगरपालिका अगाडि प्रदर्शन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका नेता लालविक्रम थापाले बताए। कर समायोजन नभएसम्म आन्दोलन नरोक्ने उनले बताए।
‘उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलसमक्ष ध्यानाकर्षण पत्र बुझाएर हामीले निरन्तर प्रदर्शन गर्दै आएको छौ, हामीले प्रदर्शन गरेको पनि २५ दिन विति सक्यो,’ उनले भने, ‘उपमहानगरपालिकाले अहिलेसम्म हामीलाई वार्तामा पनि बोलाएको छैन्।’ उनका अनुसार उपमहानगरपालिकाले वार्तामा बोलाए आन्दोलन स्थगन गर्ने वा स्वरुप वद्ल्नेबारे निर्णय लिइनेछ। यद्यपी, उपमहानगरपालिकाले अहिलेसम्म औपचारिक रुपमा वार्तामा नबोलाएको उनले गुनासो गरे।
इटहरी नगरसभाले पास गरेको आर्थिक ऐन २०८०/०८१ अनुसार इटहरीको बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रको जग्गाको कर बढाएको छ।
यसैबीच, कर वृद्दिको बिरोध भएपछि कर समायोजन र पुनरावलोकन गर्न समिति गठन भएको छ। भदौ मसान्त भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी सहित साउन २६ गतेको कार्यपालिका बैठकबाट समिति गठन भएको हो। समिति वडा नं. ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा वडाध्यक्षहरू दिवस पोखरेल, रतन कार्की र प्रभात कुमार आचार्य रहेको समिति गठन गरिएको हो। त्यस्तै नेपाल सरकारका पूर्व उपसचिव गणेश प्रसाद दाहाल र कर तथा राजस्व सम्बन्धी विज्ञ पोषराज नेपाललाई पनि सदस्य चयन गरिएको छ।
समायोजन समितिका संयोजक सुवेदीले एक चरणको समितिको बैठक बसेर अब यही भदौ १५ गते अन्तिम बैठक बसेर प्रतिवेदन बुझाउने तयारी भएको बताए। उनले अहिले नै विस्तृत भन्न नमिले पनि कर समायोजन हुने दावी गरे।
प्रकाशित: ११ भाद्र २०८० १४:१५ सोमबार