बुटवलमा सवारी पार्किङलाई व्यवस्थित बनाउन बहुतले पार्किङ भवन निर्माण गरिने भएको छ।
बहुतले पार्किङ भवनकालागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषका बिचमा सोमबार सम्झौता भएको छ। बढ्दो सवारी चाप र पार्किङ व्यवस्थित गर्न उपमहानगरपालिका र नगर विकास कोषका बिच लगानी सम्झौता भएको हो।
नगरप्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन। पार्किङ भवन निर्माणकालागि ३० करोड ४० लाख लागत अनुमान गरिएको छ।
भवन निर्माण पछि बुटवलको मुख्य बजार क्षेत्र तथा मुख्य सडक क्षेत्रको पार्किङ सोही भवनमा गरिने भएकाले सडक किनारमा गाडी पार्किङ गर्नु पर्ने अहिलेको समस्या हटेर जाने नगरप्रमुख पाण्डेयले बताए।
बुटवललाई व्यवस्थित शहरको रुपमा विकास गर्ने योजनाहरु मध्येको महत्त्वपूर्ण योजना रहेको भन्दै उनले यसले बुटवललाई अझै व्यवस्थित शहरका रुपमा स्थापित गर्ने बताए।
पार्किङ भवन बनेपछि घर बाहिर सडक पेटीमा गाडी पार्किङ गर्नेहरुले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य र भित्री सडकमा हुने पार्किङ हट्ने पनि उनले जनाए। ७ तले अत्याधुनिक भवनमा एकैसाथ करिब २ सय हलुका सवारी साधन पार्किङ गर्न सकिने बताइएको छ।
गत वर्षको असोज १५ मा भवन निर्माणकालागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसंग सम्झौता भई प्रतिवेदन पेश गरेपछि लगानीकालागि अहिले नगर विकास कोससँग सम्झौता गरिएको हो।
बुटवल नगरपालिका ९ स्थित लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले भवन निर्माणकालागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने ३० प्रतिशत बुटवल उपमहानगरले गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए। लगानी सुनिश्चित गरिएसँगै आवश्यक प्रक्रिया पुरा गरी ठेक्का प्रक्रियामा जाने उनले बताए।
पार्किङ भवनको सबैभन्दा तल्लो तलामा गाडी लगेर छोडिदिएपछि स्वचालित मेशिनले खाली भएको ठाउँमा गाडी लगेर राखिदिने र गाडी लिन आएपछि कोड अनुसार पुन गाडी तल्लो तलामा आउने व्यवस्था सहितको अत्याधुनिक प्रविधि जडान गरिने योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए।
प्रकाशित: ८ श्रावण २०८० १३:२९ सोमबार