प्रधानमन्त्री पुष्पकमल दाहालले उर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबारबाट शुरु भएको आठौं ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले उर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताए।
प्रधानमन्त्री दाहालले देशलाई आर्थिक रुपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यक्ता महत्वपूर्ण भएको उल्लेख गरे। उनले धेरै नेपालीहरुले अझै पनि हरित ऊर्जामा पहुँच पुग्न नसकेको उल्लेख गर्दै देशका सबै जनतालाई बिजुली उपलब्ध गराउनका लागि ग्रिड बिस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी बिस्तारमा जोड दिइरहेको बताए। प्रधानमन्त्री दाहालले प्रशारण र वितरण लाइनहरू बिस्तार गर्न र स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गरे। उनले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यक्ता देखिएको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौं। त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनेका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छाँै। देशका सबै नागरिकलाई विद्युत उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड बिस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी बिस्तार गरिरहेका छाैं। प्रशारण र वितरण लाइनहरू बिस्तार गर्न र स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको छ।’
प्रधानमन्त्री दाहालले धेरै विद्युत खपत गर्नसक्ने क्षेत्रको प्रवद्र्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गरे।
प्रकाशित: ५ वैशाख २०८० ०७:१६ मंगलबार