गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट पूर्ण रूपमा क्षति पुगेका भाटभटेनी सुपरमार्केटका ११ वटा आउटलेट २०८३ असारभित्र पुनः सञ्चालनमा ल्याइने भएको छ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आन्दोलनबाट ध्वस्त संरचनाहरूको पुनर्निर्माण गरी सेवा सुचारु गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
बिहीबार सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा ‘उत्कृष्ट योगदानकर्ता’ का रूपमा सम्मानित भएपछि बोल्दै अध्यक्ष गुरुङले विचलित नभई पुनर्निर्माणमा जुटेको सुनाए।
‘आन्दोलनका क्रममा हाम्रा १२ वटा आउटलेट पूर्ण रूपमा ध्वस्त भए भने २१ वटामा क्षति पुग्यो,’ गुरुङले भने, ‘पूर्ण क्षति भएकामध्ये ११ वटा भाटभटेनीलाई २०८३ सालको असार मसान्तभित्रै पुनः सञ्चालनमा ल्याउने गरी युद्धस्तरमा काम भइरहेको छ।’
उनका अनुसार पूर्ण रूपमा ध्वस्त भएका १२ वटा भवन भत्काएर सम्याउने काम भइरहेको छ भने आंशिक क्षति भएका २१ वटा आउटलेटको मर्मत सम्भार गरी केही सञ्चालनमा समेत आइसकेका छन्।
‘मुटु जलिरहेछ, तर भाग्दिनँ’
आफ्नै आँखा अगाडि दशकौँको मिहिनेत खरानी भएको क्षण सम्झिँदै अध्यक्ष गुरुङ भावुक बने। उनले स्वर्गीय भक्तराज आचार्यको गीतका हरफहरू उद्धृत गर्दै भने, ‘मुटु जलिरहेछ, आँसु बगिरहेछ।’
यद्यपि, जस्तोसुकै कठिन परिस्थिति आए पनि आफू पछि नहट्ने र दायित्वबाट नभाग्ने उनले प्रतिबद्धता जनाए।
‘दसौं हजारलाई रोजगारी दिने र मुलुकलाई अर्बौं रुपैयाँ राजस्व तिर्ने अभियान मेरो हो,’ गुरुङले भने, ‘अब म आफ्नो लागि होइन, श्रमिक र मुलुकको लागि लगानी विस्तार गर्छु।’
प्रकाशित: ११ मंसिर २०८२ २१:४३ बिहीबार



