अर्थ

जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै

काठमाडौं–जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ ।

सामूहिक ट्रेडमार्क प्रयोग गर्न व्यवसायीले उद्योग विभागमा प्रस्ताव पेस गरिसकेका छन् । विभागले सामूहिक व्यापार चिह्न प्रयोग गर्न यससम्बन्धी निर्देशिका मागेको छ । ‘विभागले कोड अफ कन्डक्ट बनाएर ल्याउनुस भनेको छ,’ नेपाल हब्र्स एन्ड हर्बल प्रडक्टस् एसोसिएसनका अध्यक्ष गोविन्द घिमिरेले भने, ‘विभागमा आचारसंहिता बुझाएपछि कलेक्टिभ ट्रेडमार्क स्वीकृत हुनेछ ।’

आचारसंहितामा सामूहिक व्यापार चिह्न कस्तो हुने, यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिने घिमिरेले बताए । त्यस्तै हाल रहेका व्यवसायी र यससँग सम्बन्धित संघहरूले कसरी प्रयोग गर्न पाउने, कस्तो उत्पादनलाई यो चिह्न प्रयोग गर्न दिने भन्ने मापदण्ड बन्नेछ । महिना दिनभित्र आचार संहिता विभागमा पेस गर्ने घिमिरेले बताए ।  

व्यवसायीले कलेक्टिभ ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा लोगोसहित सम्पूर्ण कागज पेस गरिसकेका छन् । देशमा जडीबुटी सम्बन्धी व्यवसाय गर्दै आएका तीन व्यावसायिक संघ मिलेर कलेक्टिभ ट्रेडमार्क प्रयोग गर्न लागेका हुन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ, काठमाडौं, नेपाल जडीबुटी व्यवसायी संघ, नेपालगन्ज र जडीबुटी व्यवसायी संघ नेपाल, काठमाडौंले संयुक्त रुपमा लोगो दर्ता गर्न लागेका हुन् । छुट्टाछुट्टै रुपमा संघ भए पनि एउटै व्यवसाय भएकाले गुणस्तरीय उत्पादन र निर्यात बढाउन सामूहिक ट्रेडमार्क प्रयोग गर्न लागेको घिमिरेको भनाइ छ ।

विभागमा दर्तापछि अन्तर्राष्ट्रिय ट्रेडमार्क बजारमा पनि दर्ता गर्दै जाने संघको योजना छ । देशभित्र दर्ता भएको ट्रेडमार्कलाई अन्तर्राष्ट्रिय स्तरमा पनि दर्ता गराउनु पर्छ ।    नेपाली जडीबुटीको आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसाय प्रवद्र्धनको लागि नयाँ ट्रेडमार्कले सहयोग गर्ने विश्वास लिइएको छ । सामूहिक रुपमा लोगो प्रयोग हुन थालेपछि नेपालको सक्कली जडीबुटीको निर्यात बढ्ने छ । हाल जडीबुटी व्यवसायीमा गैरकानुनी काम पनि भइरहेको भन्दै कलेक्टिभ ट्रेडमार्कले यसलाई निरुत्साहित गर्ने व्यवसायीको भनाइ छ ।  

भारतबाट जडीबुटी ल्याउने र नेपालमा ‘सर्टिफिकेसन अफ नेपाल’ लगाएर भारत सहित अन्य मुलुकमा पठाउने गरेको गुनासो व्यवसायीको छ । अनधिकृत रुपमा भएका यस्ता गतिविधिले नेपाली जडीबुटी व्यवसायलाई ठूलो घाटा र विश्वसनीयता घट्दै गएको व्यवसायीको छ । यही अनधिकृत कारोबार रोक्न कलेक्टिभ ट्रेडमार्कले महŒवपूर्ण भूमिका खेल्ने व्यवसायीको विश्वास छ ।

निर्देशिका अनुसार ट्रेडमार्क प्रयोग हुने, अनधिकृत रुपमा नेपाली जडीबुटी भन्दै निर्यात नहुने विश्वास घिमिरेले व्यक्त गरे । देशभित्र मसलाजन्य र औषधिजन्य जडीबुटी ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । नेपालबाट मेडिसनल प्लान्ट, मेडिसनल हब्र्स र एसेन्सियल आयल उत्पादन र निर्यात भइरहको छ । मेडिसनल हर्बस् औषधीको रुपमा प्रयोग हुन्छ भने एसेन्सियल आइल सुगन्धित तेल, कस्मेटिक्स, साबुन लगायतमा प्रयोग हँुदै आएको छ । व्यवसायीका अनुसार नेपालमा जलस्रोतपछि जडीबुटी व्यवसायको ठूलो सम्भावना छ ।  
विश्व बजारमा जडीबुटीजन्य उत्पादनको माग अत्यधिक रहेको व्यवसायी बताउँछन् ।

नेपालमा उत्पादन हुने जडीबुटीजन्य उत्पादनको निर्यात हरेक वर्ष बढ्दै गएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा १६२.६१ करोडको मेडिसिन हब्र्स निर्यात भएको छ । त्यस्तै, सोही आर्थिक वर्षमा एसेन्सियल आयल १७.२० करोडको निर्यात भएको छ  ।

 

प्रकाशित: १२ श्रावण २०७३ ०५:१५ बुधबार

जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै