मधेस प्रदेश सरकारको बेरुजु एकै वर्षमा १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँले थपिएको छ। महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार प्रदेश सरकारको कुल बेरुजु १० अर्ब ९८ करोड ७ लाख ६९ हजार रुपैयाँ पुगेको हो।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार प्रदेश सरकारका मन्त्रालय, कार्यालय, समिति तथा अन्य संस्थाको ४९ अर्ब ६९ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार लेखापरीक्षण गरिएको थियो। त्यस क्रममा १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको हो। यो लेखापरीक्षण गरिएको कुल रकमको ३.७७ प्रतिशत हो।
वर्षेनी बेरुजु फर्छ्योट हुनुपर्नेमा उल्टै थपिँदै गएपछि मधेस प्रदेश सरकारले यसको नियन्त्रणका लागि विशेष योजना अघि बढाउने तयारी गरेको छ।
आर्थिक मामिला मन्त्रालयले बेरुजु फर्छ्योटको अवस्था अध्ययन गर्न केही दिनभित्रै प्रदेशका विभिन्न कार्यालयमा टोली पठाउने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ। टोलीले बेरुजुको अवस्था अनुगमन गर्नुका साथै आवश्यक छानबिनसमेत गर्ने बताइएको छ।
अर्थमन्त्री युवराज भट्टराईले पनि बेरुजु घट्नुको साटो बढ्दै गएको स्वीकार गरेका छन्। उनले बेरुजु न्यूनीकरण र फर्छ्योटका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन्।
प्रतिवेदनअनुसार प्रदेश सरकारको कुल बेरुजुमध्ये १ अर्ब ३६ करोड ७३ लाख ४९ हजार रुपैयाँ नियमित गर्नुपर्ने प्रकृतिको छ। यो कुल बेरुजुको ७२.९९ प्रतिशत हो।
नियमित गर्नुपर्ने बेरुजुमध्ये ५९ करोड २४ लाख ८७ हजार रुपैयाँ अनियमितता भएको रकमका रूपमा देखाइएको छ। त्यस्तै ७५ करोड ३५ लाख ५८ हजार रुपैयाँको आवश्यक प्रमाण तथा कागजात पेस नभएको र २ करोड १३ लाख ४ हजार रुपैयाँ सोधभर्ना नलिइएको रकम रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी प्रदेश सरकारको ४४ करोड ९९ लाख ८५ हजार रुपैयाँ पेस्की बेरुजु रहेको छ। ५ करोड ६० लाख २७ हजार रुपैयाँ भने असुल गर्नुपर्ने बेरुजुका रूपमा देखिएको छ।
महालेखापरीक्षकको प्रतिवेदनले देखाएको ठूलो बेरुजु रकम फर्छ्योट गर्नु मधेस प्रदेश सरकारका लागि वित्तीय अनुशासन र सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापनसँग जोडिएको प्रमुख चुनौती बनेको छ।
प्रकाशित: ४ आश्विन २०८३ १८:३८ आइतबार