अर्थ

कोसीका आठ जिल्लामा १४०० सिँचाइ योजना सम्पन्न

कोसी प्रदेशका ५९ स्थानीय तहमा एक हजार चार सय ४० साना सिँचाइ आयोजना निर्माण गरिएका छन्। यी स्थानीय तहका २५ हजार ९३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ।

स्विस सरकारको ३० प्रतिशत, संघीय सरकार र प्रदेश सरकारको २०–२० प्रतिशत, स्थानीय सरकारको २० प्रतिशत र स्थानीय जल उपभोक्ता संस्थाको १० प्रतिशत लगानीमा आयोजना निर्माण गरिएका हुन्। आयोजनाबाट ६१ हजार ४० घरका उपभोक्ता लाभान्वित भएको कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाताको तथ्यांक छ।

इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुंगाका यी आयोजना सम्पन्न गर्न पाँच अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ।  

यी आयोजना सम्पन्न भई सिँचाइ सुविधा पुग्दा बर्खेधानको उत्पादकत्व ४४ प्रतिशत र बसन्ते मकै ५९ प्रतिशत वृद्धि भएको जानकारी परामर्शदाताका टोली नेता गुणराज श्रेष्ठले दिए। उनका अनुसार सिँचाइ सुविधा पुगेपछि किसानले एकै वर्षभित्र पटक–पटक बाली लगाउन पाएका छन्। ‘बाली सघनता (बाली लगाउने संख्या) ३३ प्रतिशत बढेको देखिएको छ’, श्रेष्ठले भने, ‘यो भनेको किसानले एउटै जमिनमा पटक–पटक बाली लगाउन पाएका छन्।’

 निर्माण सम्पन्न भएको तीन वर्षपछि ९४ प्रतिशत आयोजना सञ्चालनमा छन् भने बाँकी आयोजनामा बाढी, पहिरो, तथा सडक विस्तारका कारण क्षति पुगेको परामर्शदाता निकायले जनाएको छ।

आयोजनाअन्तर्गत इलाम र पाँचथरका १४ स्थानीय तहमा दुई अर्ब २५ करोड रुपैयाँका आयोजना सम्पन्न भएका छन्। यो क्षेत्रको १० हजार १७२ हेक्टरमा सिँचाइ सुविधा पुगेको जानकारी आयोजनाको फिक्कल क्लस्टरका केशव लामाले दिए।

इलामका चुलाचुलीबाहेक नौ स्थानीय तह तथा पाँचथरका फालेलुङ, मिक्लाजुङ, फाल्गुनन्द, याङ्वरक, फालेलुङ गाउँपालिका र फिदिम नगरमा यी आयोजना निर्माण गरिएका छन्। १४ स्थानीय तहका २० हजार २२२ परिवारले सिँचाइ सुविधा पाएको तथ्यांकमा उल्लेख छ।

सिँचाइ सुविधा पुगेपछि किसानले राहत पाएका छन्। इलाम फाकफोकथुम–६, एकतप्पाका इन्द्र श्रेष्ठले पानी नहुँदा सुक्खा लागेर बाली उत्पादन नहुने गरेकामा अहिले त्यो समस्या नभएको बताए। ‘घर–गाउँमै कुलो आएपछि हामी खुसी छौं’, उनले भने, ‘कुलोले धेरैलाई राहत मिलेको छ।’

निर्माण सम्पन्न भइसकेको कुलो स्थानीय जल उपभोक्ता संस्थाले दीर्घकालीन रूपमा मर्मत र संरक्षण गर्ने लामाको भनाइ छ।

अहिले सम्पन्न गरिएका आयोजना दोस्रो चरणअन्तर्गत हुन्। अब विभिन्न पालिकामा तेस्रो चरणका आयोजना सञ्चालन गर्ने तयारी भइरहेको परामर्शदाताले जानकारी दिएका छन्।  

प्रकाशित: २१ श्रावण २०८३ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App