प्रवास

एनआरएनएको पहिलो महिला सम्मेलन पुसमा काठमाडौंमा हुने, रोजगारी र उद्यमशीलतामा विशेष छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापनाको दुई दशकभन्दा लामो इतिहासमा पहिलोपटक महिला सशक्तीकरणलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आगामी सन् २०२७ जनवरीको पहिलो साता अर्थात् २०८३ पुस २० गते काठमाडौंमा हुने तय भएको छ।

‘महिला सशक्तीकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित आयोजना हुने सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने संघले जनाएको छ।

विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला र नेपालभित्र विभिन्न क्षेत्रमा सक्रिय महिलालाई एउटै मञ्चमा जोड्ने सम्मेलनको उद्देश्य छ। यसमार्फत महिलाबीच अनुभव, ज्ञान र सीप आदानप्रदान गर्नुका साथै महिला सशक्तीकरणका क्षेत्रमा रहेका नीतिगत, कानुनी तथा व्यावहारिक समस्या पहिचान गरी समाधानका उपाय खोजिनेछ।

संघले बिहीबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी र मुख्य विषयवस्तुबारे जानकारी दिएको हो। सम्मेलनमा महिला सशक्तीकरणसँग सम्बन्धित चार प्रमुख क्षेत्रलाई केन्द्रमा राखेर छलफल, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिनेछ।

महिलाका अधिकार, अवसर र नीतिगत सुधार सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्। यस क्रममा विद्यमान ऐन, नीति, निर्देशिका तथा संस्थागत संरचनाको समीक्षा गर्दै सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरिनेछ। विशेषगरी विदेशमा रहेका नेपाली महिलाको अधिकार र अवसर सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्थाबारे छलफल हुनेछ।

त्यस्तै, नेपाल तथा विदेशमा रहेका महिला उद्यमीबीच व्यावसायिक सम्बन्ध विस्तार, साझेदारी र सहकार्य प्रवर्द्धन तथा वित्तीय स्रोत र प्रविधिमा महिलाको पहुँच बढाउने विषयलाई प्राथमिकता दिइनेछ। नेपाली मौलिक उत्पादनको उत्पादन, प्रवर्द्धन, बजारीकरण र अन्तर्राष्ट्रिय बजारमा निर्यातमा महिलाको सहभागिता बढाउने सम्भावनाबारे पनि विमर्श गरिने संघले जनाएको छ।

सम्मेलनमा जलवायु परिवर्तन र प्राकृतिक विपद्ले महिला तथा बालबालिकामा पार्ने असरसमेत उठाइनेछ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीलगायत विपद्का अनुभवका आधारमा जलवायु न्याय, विपद् व्यवस्थापन र त्यसमा महिलाको भूमिकाबारे छलफल हुनेछ। लैङ्गिक हिंसा तथा मानव बेचबिखनबाट महिला र बालबालिकालाई सुरक्षित राख्ने विषय पनि सम्मेलनको प्राथमिकतामा रहनेछ।

वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा र अधिकार, मानसिक स्वास्थ्य तथा स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका विषयमा समेत छलफल गरिनेछ। यी क्षेत्रमा एनआरएनएको भूमिका र आवश्यक सहकार्यका उपाय पहिचान गर्ने लक्ष्य राखिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले विश्वभर रहेका गैरआवासीय नेपालीलाई सम्मेलनमा सहभागी हुन आग्रह गरे। उनले संघले क्षेत्रीय सम्मेलन, दोस्रो पुस्तासम्बन्धी सम्मेलन र स्वास्थ्य सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिरहेको जानकारी दिए।

महिला सशक्तीकरणलाई राष्ट्रको दिगो र समावेशी समृद्धिको आधारका रूपमा अघि बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संघको भनाइ छ। यसले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका अनुभव र प्रेरणादायी कथालाई उजागर गर्नुका साथै सातै प्रदेश र स्थानीय तहमा सक्रिय महिला उद्यमीलाई पुँजी, सीप, प्रविधि तथा बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा संघकी महिला उपाध्यक्ष टिका गुरुङ, उपाध्यक्ष रोजिना प्रधान राई तथा महिला संयोजक रश्मी थापाले सम्मेलनको उद्देश्य, तयारी र महत्वबारे धारणा राखेका थिए।

प्रकाशित: ३ मंसिर २०८३ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App