प्रवास

एनआरएनए जापान : श्रेष्ठ र लामिछानेबीच 'भिडन्त'

गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको अध्यक्षका लागि सिद्धार्थ श्रेष्ठ र सुभाष लामिछानेबीच प्रतिस्पर्धा हुने भएको छ। वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन्।

सन् २००९ मा जापान पुगेका श्रेष्ठ रेष्टुरेन्टसम्बन्धी व्यवसायमा संलग्न छन्। उनको पुर्खेली घर बागलुङ हो। श्रेष्ठले यसअघि एनआरएनए जापानको सदस्य, प्रवक्ता, महासचिव हुँदै उपाध्यक्ष बनेको जिम्मेवारी समालेका छन्।  

आगामी जुलाई २७ तारिख हुने निर्वाचनमा एनआरएनए जापानकै अर्का उपाध्यक्ष एवं व्यवसायी सुभास लामिछानेले अध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जापानमा रहेका नेपालीको समस्या समाधानका लागि पहल गर्नु आफ्नो पहिलो काम रहेको श्रेष्ठले बताएका छन् ।

नेपालमा रहँदा तेक्वान्दोका खेलाडी भएकाले श्रेष्ठले आफ्नो पहलमा बागलुङमा २ सय भन्दा धेरै अट्ने कबर्ड हल बनाएका छन्। यस्तै अर्का प्रत्यासी लामिछानेसँग समेत प्रवक्ता र उपाध्यक्ष रहेर काम गरेको अनुभव छ। पर्वतमा जन्मिएका लामिछाने सन् २००७ मा नै विद्यार्थी भिसामा जापन गएका थिए।  

गैरआवासीय नेपाली सङ्घ जापानमा १८३८० जना मतदाता रहेका छन्। उनीहरूले अनलाइनमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। गैरआवासीय नेपाली सङ्घको १२ औं महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ। सो महाधिवेशनको तयारीको लागि विश्वभरका ६० भन्दा बढी देशमा नयाँ नेतृत्वको लागि निर्वाचन जुलाई महिनाभित्र सम्पन्न हुँदैछ।

प्रकाशित: १ श्रावण २०८२ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App