गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघको आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो स्वाभाविक दावी रहेको बताएका छन्। तर सबै पक्षलाई समेट्ने ठूलो एकताको लागि जहाँ आवश्यक हुन्छ, त्याग गर्न पनि आफू तयार रहेको स्पष्ट पारे।
आयरल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) को महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै डा. शर्माले अध्यक्ष पदको लागि आफ्नो दावी स्वाभाविक भएको बताए। उनले भने, ‘वर्तमान अध्यक्ष डा. बद्री केसीपछि वरिष्ठ उपाध्यक्षको हैसियतले मेरो अध्यक्ष पदको दावी स्वाभाविक हो। मैले वरिष्ठ उपाध्यक्षको नाताले नेतृत्व लिने कुरा हो। तर संस्थाभित्र सबैलाई समेट्ने एकता बनाउन जहाँ के सम्बोधन गर्नुपर्छ, त्यसका लागि म पछि हट्दिन।’
डा. शर्माले संघको १२औं महाधिवेशन सबै पक्षलाई समेट्ने एकताको अधिवेशन बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘महेशसँग हामी हरेक दिन छलफलमा छौं। उनी साथी पनि हुन्। हामी एकताको लागि लचक छौं। तर पहिला एनसीसी संरचना बनाऔं, सदस्यता बढाऔं। एनसीसीको निर्वाचन भनेको संस्थाको खम्बा तयार गर्नु हो। त्यसपछि मात्र एकताको छानो लगाउने काम गर्न सकिन्छ।’
संघको निर्वाचनमा हुने करोडौं रुपैयाँको खर्च र त्यसबाट उत्पन्न हुने विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै डा. शर्माले आइसीसी अध्यक्ष बन्न करोडौं रुपैयाँ खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। उनले भने, ‘म अध्यक्षको उम्मेदवारी शुल्कबाहेक अन्य कुनै खर्च गर्नेवाला छैन। संस्थाको नेतृत्वमा पैसा हुने र नहुने सबैले पुग्न सक्ने वातावरण चाहिन्छ। नेताको ढोकाढोका धाउने प्रवृत्ति गलत हो।’
उनले एनसीसी निर्वाचनदेखि नै पैसाको चलखेल हुने प्रवृत्ति हटाउनुपर्ने बताए। ‘एनसीसीले सधैं माथिबाट पैसा खनाउने बास्केट फण्डको आश गर्नु गलत हो। त्यो प्रचलन हटिसकेको छ। अहिले भएका सदस्य संख्याले पनि पुष्टि गर्छ-गत वर्षजस्तै संख्यामा सदस्य बनेका छन्, त्यो पनि एक रुपैयाँ नखर्चिकन स्वस्फूर्त रूपमा,’ उनले भने।
डा. शर्माले एनआरएनएका सबै एजेन्डा राजनीतिक प्रकृतिका हुने भए पनि चुनाव जित्नका लागि दलको राजनीति गर्नु उचित नभएको बताए। उनले भने, ‘हामी आफ्ना एजेन्डा लिएर राजनीतिक दलहरूसँग छलफल गर्न सकिन्छ। तर सामाजिक संस्थामा चुनाव जितेर आएपछि पार्टी राजनीति गर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो।’
संघका पूर्वअध्यक्ष शेष घलेद्वारा गत मे महिनामा आयोजित एकता अधिवेशन असफल भएको उल्लेख गर्दै डा. शर्माले भने, ‘एनसीसीको असहयोगका कारण एकता अधिवेशन सफल हुन सकेन। एनसीसी र आइसीसी एक अर्काका परिपूरक हुन्। एनसीसीको सहयोगबिना आइसीसी चल्न सक्दैन। एनआरएनए सबैलाई समेट्ने सामाजिक संस्था हो जसमा ब्रान्ड र एजेन्डा दुवै जोडिएका छन्।’
उनले गैरआवासीय नेपालीसम्म संस्थाको पहुँच पुर्याउन एनआरएनएलाई डिजिटाइज गरिएको र आगामी दिनमा अझ परिष्कृत बनाइने प्रतिबद्धता जनाए।
कार्यक्रममा एनआरएनएका सचिव भिमकलम केसीले पनि ठूलो एकताको लागि आवश्यक गृहकार्य भइरहेको बताए। उनले एनआरएनए सम्भावनाले भरिएको संस्था भएको उल्लेख गर्दै सबैलाई एउटै छानामुनि ल्याउन आपसी समझदारी र सहयोगको अपिल गरे।
प्रकाशित: ३२ असार २०८२ ०६:५९ बुधबार