नेपाल अमेरिका पत्रकार संघ अमेरिका बस्ने सबै नेपाली पत्रकारहरुको साझा क्लब हो। आफ्नो लगभग एक दशकको इतिहास पार गर्दा यस संस्थाले कताकता आफ्नो संस्थापनाको उमंग र भावनालाई भुल्दै गएको जस्तो महसुस भएको छ। हाल पुराना र नयाँ साथीहरुबीच समन्वय हुन नसक्दा संस्थालाई आफ्नो उपस्थिति देखाउन समेत गाह्रो स्थिति देखिएको छ। त्यसैले सबै पक्षलाई समेट्न, अमेरिकामा रहेका सञ्चारकर्मीको बृहत्तर हितलाई बढावा दिनुपर्छ भन्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ। पद लिनभन्दा काम गर्नका लागि मेरो उम्मेदवारी हो।
त्यसो भए अध्यक्ष भएपछि तपाईले के के गर्छु भनेर योजना बनाउनुभएको छ?
साथीहरुबीचको एकता मेरो पहिलो जोड हुनेछ। सबैबीच सन्तुलन मिलाएर पुराना तथा नयाँ साथीहरुलाई जिम्मेवारी दिएर संस्थालाई सक्रिय पार्नेछु। नेजामा साँच्चै पुनर्ताजगीको आवश्यकता खट्किएको छ। त्यसलाई पूरा गर्नका लागि पूर्ण एकताको वातावरण सिर्जना गर्न, हाम्रो सामुदायिक पत्रकारितालाई अमेरिकाको मूल नागरिक पत्रकारिताको प्रवाहमा लैजान र नेपाली पत्रकारिता एवं पत्रकारहरुसँग गाढा भाइचारा बढाउन, नेपाल र नेपाली पहिचानलाई सञ्चारको माध्यमबाट पाश्चात्य समाजमा चिनाउन केही विशुद्ध नयाँ योजना मसँग छन्। यो कामका लागि यहाँका धेरै क्षेत्रसँग घुलमिल भइसकेको र राम्रो सम्पर्क भइसकेको हिसाबले मैले कुशलतापूर्वक गर्नसक्छु जस्तो लाग्छ।
नेजामा पनि राजनीतिक दल हावी भए भन्छन्। व्यवसायिक संस्थामा यस्तो किन?
हावी नै त नभनौं दलको छायाँ संसारका जुनसुकै कुनामा भएका नेपाली संस्थामा पनि देखिँदो रहेछ। यहाँ नेजामा पनि केही हदसम्म त्यो प्रवृत्ति देखियो। हामी साँच्चै चाहन्छौं भने, अमेरिकामा रहेका सबै पत्रकार साँच्चै यो चाहन्छन् भने यो अधिवेशनबाट हामी राजनीतिक प्रभावलाई टाढै राख्न सक्छौं। यो कार्यमा मेरो सक्दो प्रयास हुनेछ।
यहाँ (अमेरिकामा) रहेका पत्रकारले तपाइँलाई किन मतदान गर्ने?
म अघिल्लो र पछिल्लो पुस्ता दुवैलाई प्रतिनिधित्व गर्दै समन्वय गर्न सक्ने क्षमता र योजना भएको व्यक्ति हुँ। धेरै अप्ठ्यारो स्थितिमा नेजाको स्थापना गर्ने कार्यमै मेरो संलग्ना थियो। त्यसैले यो संस्थाप्रति मेरो स्नेह उच्च छ भने अर्कातिर काम गरेको अनुभव पनि छ। सर्वसम्मत नेतृत्व निर्माणका लागि मैले पटक पटक योगदान पुर्या्एको छु। झन्डै १५ वर्षको नेपालको मूलधारको पत्रकारिताको अनुभव र त्यति नै वर्ष अमेरिका बसाइ पार गर्दा मसँग स्वदेश र विदेशका धेरै अनुभवहरु जम्मा भएका छन्। संघर्षमय अमेरिकी जीवनको लामो यात्रापछि अहिले मसँग तुलनात्कम रुपमा स्रोत, समय, अनुभवको एउटा सुन्दर संयोजन स्थापित भएको छ। यसलाई म नेजाको नेतृत्वमा रहेर उपयोग गर्न चाहन्छु। त्यसैले धेरै साथीहरु मप्रति सकारात्मक हुनुहुन्छ। उहाँहरुले धेरै आशा राख्नु भएको छ।
अध्यक्षमा अन्य उम्मेदवारको नाम पनि आएको छ, उहाँहरुबारे तपाइँ के भन्नुहुन्छ?
हो हाल अध्यक्षको उम्मेदवारी दिएका मेरा प्रत्यासी भोला आचार्य मेरो नजिका प्रिय साथी हुन्। पछिल्लो पुस्ताका भएकोले म उनलाई मायाले भाई भनेर सम्बोधन गर्छु। उनमा जोश, जाँगर, प्रतिवद्धता छ। महासचिवको जिम्मेवारी राम्रो काम गरे। तर हामी जो जसरी चुनावमा आए तापनि सर्वसम्मत निर्णय अपनाउनु एउटा हितकारी निर्णय हुनसक्छ। सबैका लागि विशेषगरी नेजाका लागि।
नेजाको नेतृत्व चयन निर्विरोध हुनसक्छ भन्ने संकेत गर्नुभएको हो?
म धेरै नै आशावादी छु। जोशसँगै होस हुनु धेरै महत्वपूर्ण हुन्छ। हामीले यस्तै बेलामा हो आफ्नो बल, बुद्धि, क्षमता र विवेक लगाएर सवै पत्रकारहरुको हितमा अगाडि बढ्ने। विवेकपूर्ण निर्णय सधैँ अर्थपूर्ण हुन्छ। त्यसैले यदि कुनै परिस्थितिले चुनाव भइहाल्यो भने पनि हामीले परिणामलाई स्वभाविक प्रजातान्त्रिक अभ्यासको रुपमा लिएर अगाडि बढ्नु पर्दछ।
प्रकाशित: २३ वैशाख २०७३ २२:१९ बिहीबार


