लन्डन, मंसिर १० (एजेन्सी) - बेलायती राजपरिवारकी बुहारी केट मिडलटनको नाङ्गो फोटो छाप्ने आइरिस डेली स्टारका सम्पादक माइकल ओ केनले राजीनामा दिएका छन्। गत सेप्टेम्बरमा फोटो छापिएपछि उनलाई निलम्बन गरिएको थियो।
पत्रिकाले विज्ञप्ति जारी गर्दै माइकलले तूरुन्तै पद छाड्ने जानकारी गराएको हो। विज्ञप्तिमा फोटो छापिएपछि सेयरहोल्डरहरुबीच कुरा उठेको र त्यसैलाई ध्यानमा राख्दै उनले तुरुन्त लागू हुने गरी सम्पादक पदबाट राजीनामा दिएको उल्लेख छ।
मिडिया टाइकून रिचर्ड डेस्मनले फोटो छापिएपछि क्रुद्ध हुँदै पत्रिका बन्द गर्ने चेतवानी दिएका थिए। पत्रिकाले माइकलले सबै सम्पादकीय नीति र निर्देशिकाहरुको पालना गरेको र उनी उत्कृष्ट सम्पादक रहेको बताएको छ।
फ्रान्समा विदा मनाउँदै गर्दा लुकिछिपी खिचेको सो फोटो फ्रान्सेली पत्रिका क्लोजरले छापेपछि आइरिस डेली स्टारले पुनःप्रकाशन गरेको थियो।
प्रकाशित: १० मंसिर २०६९ ०७:४८ आइतबार