ब्लग

पीडापछिको पाइला

विपत्ति बाजा बजाएर आउँदैन। केही क्षणअघिसम्म सामान्य गतिमा चलिरहेको जीवनलाई यसले एकाएक भय, पीडा र अनिश्चितताको भुमरीमा धकेलिदिन्छ। भूकम्पले घर भत्काउन सक्छ, बाढीले बस्ती डुबाउन सक्छ, पहिरोले बाटो र बस्ती बगाउन सक्छ, आगलागीले वर्षौँको श्रम खरानी बनाउन सक्छ।  

दुर्घटना, महामारी वा मानवीय कमजोरीले पनि क्षणभरमै जीवनको लय बदलिदिन सक्छ। विपत्तिको रूप फरक भए पनि पीडाको गहिराइ उस्तै हुन्छ। भत्किएको घर देखिन्छ, बगेको सडक देखिन्छ, खरानी भएको सम्पत्ति देखिन्छ; तर भित्र भत्किएको भरोसा, हराएको सुरक्षा र अनिश्चित बनेको भविष्य देखिँदैन।

विपत्तिपछि मानिसले बाहिरी क्षतिभन्दा ठूलो लडाइँ आफ्नै मनसँग लड्नुपर्छ। हिजोसम्म सुरक्षित ठानेको घर असुरक्षित बन्छ। निश्चित ठानेको भविष्य अचानक प्रश्न बनेर उभिन्छ। कसैले प्रियजन गुमाउँछ, कसैले घरबार, रोजगारी वा जीवनभरको कमाइ। केही क्षणमै जीवनको पुरानो आधार भत्किएपछि मनमा एउटै प्रश्न घुमिरहन्छ, अब के गर्ने?

यस प्रश्नको उत्तर तत्काल भेटिँदैन। विपत्तिपछिको पीडा कुनै औषधिले एकैपटक निको पार्न सकिँदैन। गुमेको मानिसको सम्झना, भत्किएको घरको दृश्य र विपत्तिको त्रास लामो समयसम्म मनमा रहन सक्छ। त्यसैले पीडालाई जबर्जस्ती दबाएर सामान्य बन्न खोज्नु आवश्यक छैन।  

आँसु आउँछ, बग्न दिनुपर्छ, मन भारी छ त्यसलाई महसुस गर्न दिनुपर्छ। पीडालाई स्वीकार गर्नु त्यसबाट बाहिर निस्कने पहिलो चरण हो।

पीडा स्वीकार गर्नु र पीडामै बस्नु फरक कुरा हो। जीवनमा केही घटना यस्ता हुन्छन्, जसलाई चाहेर पनि बदल्न सकिँदैन। गुमेको मानिस फर्काउन सकिँदैन, बितेको समय फर्काउन सकिँदैन। त्यसैले बदल्न नसकिने कुरासँग अनन्त लडिरहनुभन्दा बाँकी रहेको जीवनतिर फर्कन सक्नुपर्छ।  

जे भयो, त्यो बदल्न नसकिएला, तर त्यसपछि कसरी बाँच्ने भन्ने निर्णय अझै आफ्नो हातमा हुन्छ। यही बोध पुनःउत्थानको पहिलो खुड्किलो हो।

पुनःउत्थान भनेको पुरानै जीवन जस्ताको तस्तै फर्काउनु मात्र होइन। परिस्थिति बदलिसकेपछि त्यसैअनुसार जीवनलाई नयाँ ढङ्गले अघि बढाउनु हो। घर पहिलेको जस्तो नहुन सक्छ, काम बदलिन सक्छ, परिवारको अवस्था फेरिन सक्छ। तर जीवन त्यहीँ समाप्त हुँदैन। एउटा बाटो बन्द हुँदा अर्को बाटो खोज्ने साहस नै पुनःउत्थानको शक्ति हो।

मानिसको वास्तविक शक्ति सहज अवस्थामा होइन, संकटको सामना गर्ने क्षमतामा देखिन्छ। एउटै विपत्तिले कसैलाई तोड्न सक्छ, कसैलाई अझ बलियो बन्न सिकाउँछ। यसको अर्थ सबैले पीडा समान रूपमा सहन सक्छन् भन्ने होइन। हरेक मानिसको घाउ, अवस्था र सहने सीमा फरक हुन्छ। तर ‘अब केही गर्न सकिँदैन’ भन्ने निष्कर्षमा पुग्नुभन्दा ‘अब बाँकी के गर्न सकिन्छ?’ भन्ने प्रश्न उठाउनु आत्मबलको सुरुवात हो।

आत्मबल भनेको कहिल्यै नरुनु वा डर नमान्नु होइन। डर, पीडा र निराशाबीच पनि फेरि एउटा पाइला चाल्न सक्नु आत्मबल हो। त्यो पाइला कहिलेकाहीँ निकै सानो हुन्छ, बिहान उठ्नु, केही खानु, काममा फर्कने प्रयास गर्नु, बालबालिकालाई सम्हाल्नु, भत्किएको ठाउँ सफा गर्नु वा भोलिका लागि एउटा सानो योजना बनाउनु। बाहिरबाट सामान्य देखिने यिनै काम विपत्तिबाट गुज्रिएको मानिसका लागि जीवनतर्फ फर्किने ठूला पाइला हुन्।

विपत्तिपछि सबै कुरा गुमेको जस्तो लाग्न सक्छ। तर सबै कुरा गुमेको हुँदैन। सम्पत्ति गुम्न सक्छ, सीप बाँकी रहन्छ। घर गुम्न सक्छ, श्रम गर्ने हात बाँकी रहन्छन्। अवसर गुम्न सक्छ, अनुभव बाँकी रहन्छ। एउटा बाटो बन्द हुन सक्छ, अर्को बाटो खोज्ने क्षमता बाँकी रहन्छ। त्यसैले गुमेको कुरामात्र गन्नुभन्दा बाँकी रहेको शक्ति पहिचान गर्न सक्नु आवश्यक हुन्छ।

कठिन समयमा अरूको साथले पनि मानिसलाई ठूलो बल दिन्छ। कसैले हात समातिदिन्छ, कसैले आँसु पुछिदिन्छ, कसैले केही समय मौन भएर साथ दिन्छ। यस्तो साथले मानिसलाई आफू एक्लो छैन भन्ने अनुभूति गराउँछ। तर अन्ततः आफ्नो जीवनलाई फेरि सम्हाल्ने काम आफैँले गर्नुपर्छ। बाहिरी सहयोगले उठ्न सजिलो बनाउँछ; उठ्ने अन्तिम इच्छा भने मानिसभित्रै जन्मिनुपर्छ।

विपत्तिपछि आफूलाई अरूसँग तुलना गरिन्छ यो स्वाभाविक पनि हो, तर हरेक मानिसको घाउ र पुनःउत्थानको गति फरक हुन्छ। कसैले छिट्टै आफूलाई सम्हाल्छ, कसैलाई धेरै समय लाग्छ। त्यसैले आफ्नो घाउलाई अरूको समयसँग तुलना गर्नु उचित हुँदैन। महत्वपूर्ण कुरा अरूभन्दा छिटो ऊठ्ने भन्दापनि आफू लडेको ठाउँबाट उठ्ने प्रयास निरन्तर गरिरहनु हो।

सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। हामी योजना बनाउन सक्छौँ, मेहनत गर्न सक्छौँ, सावधानी अपनाउन सक्छौँ । तर भविष्यको सम्पूर्ण निश्चितता कसैसँग हुँदैन। यही अनिश्चिततालाई स्वीकार गर्न सक्नु जीवनबोध हो। विपत्तिपछि मानिस पहिलेभन्दा सचेत, संयमी र जीवनको मूल्यप्रति संवेदनशील बन्न सक्छ। गुमेको कुराले बाँकी रहेको कुराको महत्त्व बुझाउन सक्छ।

वास्तविक पुनःउत्थान त्यतिबेला सुरु हुन्छ, जब मानिसले आफूलाई केवल ‘विपत्तिको पीडित’ का रूपमा होइन, ‘फेरि उठ्न सक्ने व्यक्ति’ का रूपमा हेर्न थाल्छ। विपत्ति उसको जीवनको एउटा अध्याय हो, सम्पुर्ण अध्यायको समाप्ति होइन। घटनाले जीवन बदल्न सक्छ, सम्भावना समाप्त गर्दैन। आज कमजोर देखिएको मानिस भोलि आफ्नै अनुभवबाट अरूलाई हिम्मत दिने शक्ति बन्न सक्छ।

पुरानो जीवनमा फर्किन नसकिएला, तर नयाँ जीवन निर्माण गर्ने बाटो कहिल्यै बन्द हुँदैन। कहिलेकाहीँ जीवनको अर्थ फेरि खोज्नुपर्छ, भविष्यको कल्पना फेरि गर्नुपर्छ र सपनालाई नयाँ आकार दिनुपर्छ। यो यात्रा सजिलो हुँदैन। निराशा आउँछ, सम्झनाले सताउँछ, कहिलेकाहीँ प्रयास व्यर्थ लाग्छ। तर पुनःउत्थान भनेको कहिल्यै नलड्नु होइन । लडिसकेपछि फेरि उठ्ने प्रयास गर्नु हो।

विपत्तिले मानिसको जीवनबाट धेरै कुरा खोस्न सक्छ, तर आशा खोसिनु हुँदैन। आशा भनेको सबै कुरा तत्काल राम्रो हुन्छ भन्ने अन्धविश्वास होइन। कठिनाइबीच पनि केही सम्भावना बाँकी छ भन्ने विश्वास हो। आज सम्भव नभएको कुरा भोलि सम्भव हुन सक्छ भन्ने धैर्य हो। एउटा दिनलाई अर्को दिनभन्दा राम्रो बनाउने प्रयास हो।

विपत्तिले घर भत्काउन सक्छ, सम्पत्ति खोस्न सक्छ, जीवनको बाटो बदल्न सक्छ। गुमेको कुरा फर्काउन नसकिएला, तर बाँकी जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ। पुरानो संसार फर्काउन नसकिएला, तर नयाँ संसार बनाउन सकिन्छ। त्यसैले विपत्तिपछि जोगाउनुपर्ने सबैभन्दा ठूलो कुरा आशा हो। आशा जीवित रहँदा आत्मबल जीवित रहन्छ, आत्मबल जीवित रहँदा पुनःउत्थानको बाटो खुल्छ। जीवन भत्किन सक्छ, तर भत्किएको ठाउँबाट फेरि उठ्ने साहस हराउनु हुँदैन।

प्रकाशित: १४ भाद्र २०८३ १५:३६ आइतबार