ब्लग

देशलाई चमत्कार होइन, बलियो प्रणाली चाहिन्छ

कुनै चौतारो, चिया पसल वा सार्वजनिक स्थानमा केही मानिस जम्मा भएपछि देश चलाउने सूत्र निस्कन धेरै समय लाग्दैन। कसैले सरकारको आलोचना गर्छ, कसैले नेताको क्षमता नाप्छ, कसैले ‘मलाई जिम्मेवारी दिएको भए...’ भन्दै समाधानको लामो सूची सुनाउँछ। सुन्दा लाग्छ,देश बदल्न अब केही बाँकी छैन, केवल जिम्मेवारी पाउने व्यक्ति बाँकी छ। तर जिम्मेवारी साँच्चिकै आफ्नै काँधमा आइपुग्दा परिस्थिति फेरिन्छ, तर्क फेरिन्छन् र कठिनाइका सूची थपिन थाल्छन्।

यही विरोधाभास हाम्रो सामाजिक र राजनीतिक जीवनको गम्भीर पक्ष हो। अरूले गरेको काममा त्रुटि देखाउन सजिलो छ। आफ्नो कमजोरीमाथि पर्दा हालेर अर्काको कमजोरीलाई ठूलो बनाएर प्रस्तुत गर्न झन् सजिलो छ। त्यसैले ‘आफ्नो आङमा भैँसी नदेख्ने, अर्काको आङमा जुम्रा देख्ने’ उखान आज पनि उत्तिकै सान्दर्भिक छ।

समस्या आलोचनामा होइन, आलोचनाको चरित्रमा छ। लोकतन्त्रमा आलोचना आवश्यक हुन्छ। आलोचनाले सत्तालाई सचेत बनाउँछ, नेतृत्वलाई जवाफदेही बनाउँछ र समाजलाई प्रश्न गर्न सिकाउँछ। तर तथ्यभन्दा पूर्वाग्रह ठूलो भयो, तर्कभन्दा आवेग बलियो भयो र आफ्नो पक्षको गल्तीलाई बचाउँदै अर्को पक्षको गल्तीलाई मात्र अपराध ठान्न थालियो भने आलोचना सुधारको साधन बन्दैन, पक्षधरता प्रदर्शन गर्ने माध्यम मात्र बन्छ।

हामीले अब आलोचना र निन्दाबीचको अन्तर बुझ्नुपर्ने समय आएको छ। कसैको काम चित्त नबुझेपछि कुरा काट्नु आलोचना होइन। कमजोरी देखाएर सुधारको बाटो पनि देखाउनु आलोचना हो। निर्णयको परिणाममाथि प्रश्न गर्नु स्वाभाविक हो, तर निर्णय गर्नुपरेको परिस्थिति नबुझी निष्कर्ष सुनाउनु विवेकपूर्ण हुँदैन। एकपटक जिम्मेवारी बोकेर हेर्ने हो भने नेतृत्वको कुर्सी बाहिरबाट देखिएजति आरामदायी हुँदैन।

यसैसँग जोडिएको अर्को समस्या हो,व्यक्तिमा चमत्कार खोज्ने हाम्रो राजनीतिक मनोविज्ञान। कुनै नयाँ पात्र देखिनासाथ ‘अब देश बदलिन्छ’ भन्ने आशा जाग्छ। केही समयपछि अपेक्षा पूरा भएन भने उही पात्रमाथि सम्पूर्ण निराशा पोखिन्छ। फेरि अर्को पात्रको खोजी सुरु हुन्छ। यस्तो चक्र लामो समयदेखि दोहोरिइरहेको छ।

‘म आएँ भने सबै बदलिदिन्छु’ भन्ने आत्मविश्वास नेतृत्वका लागि आवश्यक हुन सक्छ, तर त्यसलाई राजनीतिक समाधान ठान्नु भ्रम हो। देश कुनै एक व्यक्तिको इच्छा, लोकप्रियता वा भाषणले मात्र चल्दैन। राज्य भनेको संविधान, कानुन, संस्था, प्रशासन, स्रोत, प्रक्रिया, नीति, नागरिक सहभागिता र जवाफदेहिताको जटिल संरचना हो।

त्यसैले नियम उही, संरचना उही र कार्यशैली उही राखेर पात्र मात्र बदल्दैमा परिणाममा चमत्कार आउँदैन। इन्द्रका बाउ चन्द्र आएर पनि ‘छुमन्तर’ गरेर देश बदल्न सक्दैनन्। किनकि कमजोर प्रणालीभित्र असाधारण व्यक्तिको क्षमता पनि सीमित हुन्छ। बरु बलियो प्रणालीमा असल व्यक्ति आए राम्रा काम द्रुत गतिमा अगाडि बढ्छन् भने खराब व्यक्ति नै आए पनि प्रणालीलाई आफ्नो स्वार्थअनुकूल मोड्न सक्दैन।

हामीले राजनीतिक सफलताको श्रेय र असफलताको दोष व्यक्तिमा मात्र थोपर्ने संस्कार बदल्नुपर्छ। आफ्नो प्रिय पात्रले गरेको उपलब्धिलाई उसको व्यक्तिगत चमत्कार र असफलतालाई परिस्थितिको दोष ठान्ने, अनि आफूलाई मन नपर्ने पात्रको हरेक असफलताको जिम्मेवारी उसैलाई मात्र दिने प्रवृत्तिले वस्तुगत मूल्याङ्कन हुन दिँदैन। सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, निजी क्षेत्र, नागरिक समाज र नागरिक,सबै राज्य सञ्चालनका हिस्सेदार हुन्। त्यसैले सुधारको जिम्मेवारी पनि साझा हुनुपर्छ।

यसको अर्थ नेतृत्वको महत्व छैन भन्ने होइन। नेतृत्वले दिशा दिन्छ, प्राथमिकता निर्धारण गर्छ र संस्थालाई गतिशील बनाउन सक्छ। इमानदार, सक्षम र दूरदर्शी नेतृत्व राष्ट्रका लागि अनिवार्य छ। तर असल नेतृत्वले पनि कमजोर संस्थाको ठाउँ लिन सक्दैन। एउटा राम्रो व्यक्तिको भरमा राम्रो व्यवस्था चल्दैन; राम्रो व्यवस्था बनाउन सकियो भने सामान्य व्यक्तिले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न सक्छ।

यही कुरा हाम्रो सामाजिक जीवनमा पनि लागू हुन्छ। आफूभन्दा फरक विचार राख्ने मानिसलाई स्वीकार गर्न नसक्ने, आफ्नो समूहलाई मात्र सही ठान्ने र अरूको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्तिले समाजलाई बलियो बनाउँदैन। लोकतन्त्रको सौन्दर्य सबैको विचार एउटै हुनुमा होइन, फरक विचारका बीच पनि सहअस्तित्व कायम गर्न सक्नुमा हुन्छ।

हामीले अब आलोचनात्मक सोचको विकास गर्नुपर्छ। आलोचनात्मक सोच भनेको हरेक कुराको विरोध गर्नु होइन। कसले भन्यो भन्दा पनि के भनियो, त्यसको आधार के हो, प्रमाण के छ र त्यसको परिणाम के हुन सक्छ भनेर सोच्नु हो। आफ्नो पक्षले गरेको गल्ती स्वीकार गर्न सक्नु र विपक्षीले गरेको राम्रो कामलाई पनि राम्रो भन्न सक्नु नै बौद्धिक इमानदारी हो।

दुर्भाग्यवश, सामाजिक सञ्जालले पनि तत्काल प्रतिक्रिया दिने संस्कारलाई बढाएको छ। कुनै सूचना आयो, तुरुन्त धारणा बन्यो। कसैले केही भन्यो, तुरुन्त समर्थन वा विरोध सुरु भयो। तथ्य जाँच्ने, पृष्ठभूमि बुझ्ने र केही समय पर्खेर निष्कर्ष निकाल्ने धैर्य घट्दै गएको छ। यसले समाजमा बहसको स्तर उकास्नुको सट्टा विभाजनको स्तर बढाउँछ।

परिवर्तनप्रतिको हाम्रो अधैर्यता पनि उत्तिकै विचारणीय छ। दशकौँदेखि थुप्रिएका समस्या केही महिनामै समाधान होऊन् भन्ने अपेक्षा राखिन्छ। सरकार बदलियो भने भोलिपल्ट परिणाम चाहिन्छ। नयाँ नेतृत्व आयो भने पुराना सबै समस्या तत्काल अन्त्य हुनुपर्छ भन्ने मनोविज्ञान बन्छ। परिणाम नआए निराशा, निराशापछि आरोप र आरोपपछि फेरि अर्को चमत्कारी पात्रको खोजी सुरु हुन्छ।

तर संस्थागत परिवर्तन जादुको छडी होइन। त्यसका लागि नीति, निरन्तरता, स्रोत, अनुशासन, सुधार र समय चाहिन्छ। धैर्यको अर्थ गलत कामलाई सहेर बस्नु होइन। सही दिशामा अघि बढ्दै उपलब्धिको समीक्षा गर्ने, कमजोरी सच्याउने र आवश्यक परे नेतृत्व परिवर्तन गर्ने लोकतान्त्रिक धैर्य हो।

अब हामीले प्रश्न गर्ने शैली नै बदल्नुपर्छ। ‘कसलाई दोष दिने?’ भन्दा ‘समस्या किन भयो?’ सोध्नुपर्छ। ‘कसले बिगार्‍यो?’ सँगै ‘यसलाई कसरी सुधार्ने?’ पनि खोज्नुपर्छ। ‘कुन नेता आयो?’ भन्दा ‘कस्तो संस्था बन्यो?’ भनेर मूल्याङ्कन गर्नुपर्छ। ‘मेरो पक्ष सही कि उसको?’ भन्दा ‘सही कुरा के हो?’ भनेर बहस गर्न सक्नुपर्छ।

देश बनाउने जिम्मेवारी कुनै एउटा दल, नेता वा पुस्ताको मात्र होइन। परिवर्तनका लागि सामूहिकता चाहिन्छ। राज्यका संस्थालाई बलियो बनाउनुपर्छ। नागरिकले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ। राजनीतिक दलले संस्थागत संस्कार विकास गर्नुपर्छ। नेतृत्वले आलोचना सुन्न सक्ने र गल्ती स्वीकार गर्न सक्ने क्षमता देखाउनुपर्छ। नागरिकले पनि अपेक्षासँगै आफ्नो भूमिका सम्झनुपर्छ।

हामीले अब व्यक्तिको खोजीभन्दा प्रणालीको निर्माणमा जोड दिनुपर्छ। यस्तो प्रणाली, जहाँ कानुन अनुहार हेरेर नचलोस्; जहाँ संस्था व्यक्तिभन्दा बलियो होस्; जहाँ जिम्मेवारीसँगै जवाफदेहिता जोडिएको होस्; जहाँ असहमति शत्रुता नबनोस्; जहाँ आलोचना गाली होइन, सुधारको माध्यम बनोस्; र जहाँ सामूहिक उपलब्धिको श्रेय कुनै एक व्यक्तिको निजी सम्पत्ति नबनोस्।

राजनीतिमा पात्र बदलिरहन्छन्। सरकार आउँछन्, जान्छन्। दलको नेतृत्व फेरिन्छ। पुस्ता फेरिन्छ। तर यदि प्रणाली उही रह्यो भने हाम्रो अपेक्षा र निराशाको चक्र पनि उही रहन्छ।

त्यसैले अब देश बदल्ने बहसमा ‘को आउनुपर्छ?’ भन्ने प्रश्नसँगै ‘के बदल्नुपर्छ?’ भन्ने प्रश्नलाई केन्द्रमा राख्नुपर्छ। व्यक्तिको क्षमता आवश्यक छ, तर व्यक्तिभन्दा बलियो संस्था आवश्यक छ। नेतृत्व आवश्यक छ, तर नेतृत्वलाई सही बाटोमा हिँडाउन सक्ने प्रणाली अझ आवश्यक छ। आलोचना आवश्यक छ, तर आलोचनासँगै जिम्मेवारीबोध आवश्यक छ। परिवर्तन आवश्यक छ, तर परिवर्तनलाई टिकाउने धैर्य र संस्थागत संस्कार अझ आवश्यक छ।

देश कुनै एक पात्रको छुमन्तरले बदलिँदैन। देश बदल्नका लागि सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नागरिक, फरक अस्तित्वलाई स्वीकार गर्ने समाज, जिम्मेवार नेतृत्व र बलियो प्रणाली चाहिन्छ।

हामीले चमत्कार खोज्न छाडेर यस्तो प्रणाली निर्माण गर्ने संकल्प गर्नुपर्छ, जहाँ चमत्कारको आवश्यकता नै नपरोस्।

त्यसैले देशलाई चमत्कार होइन, बलियो प्रणालीको आवश्यकता छ।

प्रकाशित: २६ भाद्र २०८३ १४:३१ शुक्रबार