बिहानको घामले कालोपत्रे सडकलाई सुनझैँ टल्काइरहेको हुन्छ । सडक फराकिलो छ, सफा छ, आकर्षक छ । तर त्यस सडकमा न विद्यालयतर्फ दौडिरहेका बालबालिकाका पाइला सुनिन्छन, न खेततिर लागेका किसानका गीत । कहिलेकाहीँ एउटा गाडी गुड्छ, अनि फेरि घण्टौँसम्म सन्नाटा छाउँछ । सडक चिल्लो छ, तर गाउँ रित्तो छ ।
यो केवल एउटा गाउँको दृश्य होइन । आज नेपालका सयौँ गाउँको साझा यथार्थ यही हो ।
कुनै समय गाउँहरू जीवनले भरिएका थिए ।बिहान कुखुराको डाकसँगै चुलो बल्थ्यो । मेलापातमा गाउँलेहरू जुट्थे । खेतबारीमा श्रमका गीत गुञ्जिन्थे। विद्यालयको घण्टी बज्ना साथ बालबालिकाको हाँसोले गाउँलाई जीवन्त बनाउँथ्यो । आजती आवाजहरू स्मकामा वर्षौँदेखि ताला झुन्डिएको छ । आँगनमा झार उम्रिएका छन। उब्जाउ खेतबारी बाँझिएका छन। गाउँविस्तारै आफ्नै पहिचान गुमाउँदै गएको छ ।
हामी भन्छौँ, “गाउँमाविकास पुगेको छ ।”
वास्तवमै सडक बनेका छन, पुल बनेका छन, बिजुली पुगेको छ, इन्टरनेट विस्तार भएको छ । करोडौँ रुपैयाँखर्च गरेर सुविधा सम्पन्न विद्यालय निर्माण भएका छन् । पक्की भवन, कम्प्युटर, पुस्तकालय, खेल मैदान, स्वच्छ खानेपानी र आधुनिक शौचालय सबै छन्। तर कक्षाकोठामा विद्यार्थी छैनन् । शिक्षक छन, तर पढाउन बालबालिका छैनन्। खेलमैदान छन, तर खेल्ने हातहरू हराएका छन्।
प्रश्न भवनको होइन, प्रश्न जीवनको हो।
विद्यालयको सुन्दर भवनले मात्र शिक्षा जोगाउँदैन । सडकको कालोपत्रेले मात्र गाउँ जोगाउँदैन । गाउँ जोगाउने त त्यहाँ बस्ने मानिस हुन। जब मानिस नै गाउँ छोड्न बाध्य हुन्छन, तब विकासका संरचनाहरू पनि मौन स्मारकमा परिणत हुन्छन्।
गाउँ किन रित्तिँदै छ?
उत्तर जटिल छैन । रोजगारीको अभाव, कृषि पेसा प्रतिको घट्दो आकर्षण, गुणस्तरीय स्वास्थ्य सेवाको कमी, उच्चशिक्षाका सीमित अवसर र राज्यका असन्तुलित विकास नीतिले लाखौँ युवालाई गाउँबाट बाहिर धकेलेको छ । कसैले सहर रोजे, कसैले विदेश । उनीहरूले गाउँ छोडे, तर गाउँप्रतिको माया होइन; परिस्थितिले उनीहरूलाई छोड्न बाध्य बनायो ।
विकासको मूल्याङ्कन हामीले अझै पनि किलोमिटर सडक, करोडौँको बजेट र उद्घाटन भएका भवनको सङ्ख्याले गरिरहेका छौँ । तर वास्तविक विकास त्यतिबेला हुन्छ, जब सडकले बसाइँसराइ होइन, सम्भावनाको यात्रा सहज बनाउँछ । जब विद्यालयले भवन होइन, भविष्य निर्माण गर्छ । जब गाउँबाट मानिस पलायन हुँदैनन, बरु अवसरको खोजीमा गएका युवाहरू आफ्नै गाउँ फर्कने सपना देख्न थाल्छन।
आज विकासको एउटा गम्भीर विरोधाभास हाम्रो सामुन्ने उभिएको छ । सडक गाउँसम्म पुग्यो, तर गाउँका मानिस सहर पुगिसके । विद्यालय बने, तर विद्यार्थी हराए । स्वास्थ्यचौकी बन्यो, तर सेवालिन आउने जनसंख्या घट्यो । हामीले संरचना बनायौँ, तर संरचनामा जीवन भर्न सकेनौँ।
यो समय विकासको मोडलमाथि पुनर्विचार गर्ने समय हो।
अब राज्यले विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित राख्नु हुँदैन । गाउँमै सम्मानजनक रोजगारी सिर्जना गर्ने, कृषिलाई लाभदायी र आधुनिक बनाउने, स्थानीय उद्योग, पर्यटन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई गाउँमै सुनिश्चित गर्ने नीति आवश्यक छ । विकासका सूचकहरूमा अब एउटा प्रश्न अनिवार्य रूपमा थपिनुपर्छ, “यो योजनाले कति मानिसलाई गाउँमै बस्न प्रेरित गर्यो?” यदि यसको उत्तर छैन भने विकास अधुरो छ।
नेपालको आत्मा गाउँमा बस्छ भन्ने कुरा हामी धेरै पटक दोहोर्याउँछौँ । तर आत्माबस्ने ठाउँलाई जीवनविहीन बनाउँदै जाने हो भने त्यो वाक्य केवल भाषणमा सीमित हुनेछ । राष्ट्रको समृद्धि राजधानीका अग्ला भवनले मात्र निर्धारण गर्दैन; त्यो त गाउँका हराभरा खेत, भरिभराउ विद्यालय, चलायमान बजार र आशावादी युवाले निर्धारण गर्छ।
आजपनि धेरै वृद्ध आमाबुबा घरको आँगनबाट बाटो हेर्दै आफ्ना छोराछोरी फर्किने प्रतीक्षामा छन। बन्द घरका झ्यालहरू अझै खुल्ने आशामा छन। बाँझिएका खेतहरू अझै हलोको प्रतीक्षामा छन। खाली कक्षाकोठाहरू अझै बालबालिकाको हाँसो सुन्न आतुर छन। यी केवल दृश्य होइन; यी राज्यका लागि मौन प्रश्नहरू हुन।
हामीलाई चिल्लो सडक चाहिन्छ, तर त्यो सडक आफ्नागाउँ छोड्ने बाटो होइन, गाउँफर्किने विश्वासको मार्ग बनोस्। हामीलाई सुविधा सम्पन्न विद्यालय चाहिन्छ, तर ती विद्यालय विद्यार्थीको हाँसोले भरिऊन। हामीलाई विकास चाहिन्छ, तर त्यस्तो विकास,जसले संरचनामात्र होइन, समाज पनि निर्माण गरोस।
किनभने अन्ततः इतिहासले सडक कति चिल्लो थियो भनेर सम्झिँदैन; त्यस सडकले कतिगाउँबचायो, कति सपना जोगायो र कति पुस्तालाई आफ्नै माटोसँग जोडिराख्यो भनेर सम्झिन्छ।
त्यसैले अब विकासको प्रश्न सडकको होइन, सडकमा हिँड्ने मानिसको हो। विद्यालयको होइन, त्यहाँ पढ्ने बालबालिकाको हो। बजेट खर्चको होइन, जीवन बचाउने नीतिको हो।
त्यो दिन, जब कालोपत्रे सडकमा फेरि बालबालिकाका पाइला गुञ्जिनेछन, खेतबारी हरियालीले ढाकिनेछन् र गाउँले फेरि आफ्नै गाउँमा भविष्य देख्ने छन्, त्यस दिनमात्र हामी गर्वका साथ भन्न सक्नेछौँ, “नेपालले केवल सडक बनाएको होइन, आफ्नो भविष्य पनि बनाएको छ।”
प्रकाशित: १७ असार २०८३ १५:४१ बुधबार


