अनुशासन कायम गर्ने नाममा विद्यालयमा विद्यार्थीहरू निर्घात कुटिएका, मानसिक रूपमा प्रताडित भएका र विभिन्न किसिमका दण्ड भोग्न बाध्य भएका समाचारहरू बारम्बार सार्वजनिक भइरहन्छन् ।
कानुनी रूपमा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ । नेपालको संविधान २०७२ र बालबालिकासम्बन्धी ऐन २०७५ले विद्यालयलाई भयमुक्त र शान्ति क्षेत्रका रूपमा परिकल्पना गरी कुनै पनि नाममा घर वा विद्यालयमा बालबालिकालाई शारीरिक, मानसिक वा अन्य प्रकारको यातना दिन नपाउने व्यवस्था गरेको छ ।
कानुनी व्यवस्था र कागजी प्रतिबद्धताका बाबजुद व्यावहारिक रूपमा विद्यालयभित्रको हिंसा कम भएको छ तर रोकिएको भने छैन । आखिर किन बारम्बार दोहोरिन्छ त विद्यालयभित्र यस्तो अप्रिय घटना ? यसको मूल जरो भौतिक कानुन, दण्ड–विधान वा नीति–नियमको अभाव होइन; बरु शिक्षकको मनोसामाजिक अवस्था, उनीहरूको विगतको भोगाइ, पेसागत परिवेश र अवचेतन मनमा गढेर बसेको परम्परागत चिन्तन पद्धतिमा रहेको छ ।
शिक्षकले कक्षाकोठामा गर्ने व्यवहारको प्रत्यक्ष सम्बन्ध उनीहरूको इगो र अहम्को क्षतिसँग जोडिएको हुन्छ । कक्षाकोठामा आफ्ना भनाइ वा निर्देशनलाई विद्यार्थीले सहजै स्वीकार नगर्दा वा आफ्ना अगाडि प्रश्न उठाउँदा शिक्षकले आफ्नो नियन्त्रण गुमेको महसुस गर्छन् ।
यसरी अहंकारमा चोट पुग्दा सिर्जना हुने आन्तरिक छटपटी र रिस पोख्ने माध्यम विद्यार्थी बन्न पुग्छन् । हाम्रो समाजमा ‘छोरी कुटेर बुहारी तर्साउने’ भन्ने उखान निकै चर्चित छ । यही परम्परागत र गलत भाष्यले धेरैजसो शिक्षकको शिक्षण शैली अनुशासनको कार्यान्वयनमा काम गरिरहेको देखिन्छ । शैक्षिक सत्रको सुरुका केही दिनमै केही विद्यार्थीलाई अलि डरलाग्दो र कठोर किसिमले दण्डित गर्न सकियो भने अरू विद्यार्थीहरू आफैँ डराउँछन् र अनुशासित हुन्छन् भन्ने भ्रम अझै कायम छ ।
डर र त्रास देखाएर नियन्त्रण कायम गर्नु नै अनुशासन हो भन्ने सोचले गर्दा शिक्षकहरू स्वतः दण्डतर्फ आकर्षित हुने गरेका हुन् ।
अर्कोतर्फ शिक्षक स्वयं कस्तो पारिवारिक र शैक्षिक पृष्ठभूमिबाट हुर्किएर आएका हुन् भन्ने कुराको प्रतिबिम्बन उनीहरूको शिक्षण कला र व्यवहारमा प्रस्ट झल्किन्छ । जुन शिक्षक विगतमा विद्यार्थी छँदा कडा नियन्त्रण, शारीरिक सजाय, दमन र साथीहरूबाट ‘बुलिङ’को सामना गरेर आएका हुन्छन्, उनीहरूको अवचेतन मनको बनावट नै त्यसै किसिमले निर्माण भएको हुन्छ ।
विगतमा आफूले स्वतन्त्रता नपाएको, आफ्ना भावनाहरू दमित हुनुपरेको र हीनग्रन्थि बोकेर हुर्किनुपरेको बदला उनीहरूले विद्यार्थीमाथि शक्ति प्रदर्शन गरेर लिन्छन् । उनीहरू स्वयं सचेत हुँदाहुँदै पनि लामो समयदेखि अचेतन मनमा बसेको मनोविकारका कारण खुला र मैत्रीपूर्ण हुन सक्दैनन् ।
आफूले भोगेको कठोरतालाई नै उनीहरूले शिक्षणको स्वाभाविक मानक मान्ने गम्भीर गल्ती गरिरहेका हुन्छन् । अझ आफ्नो विषयमा राम्रो दखल राख्न नसकेका शिक्षक त विद्यार्थीका प्रश्नलाई नै प्रहार ठान्ने अवस्थामा पुग्छन् । जसले गर्दा उनीहरूले एकाएक अझ बिनाकारण संयम गुमाउने गरेका हुन्छन् ।
सार्वजनिक (सामुदायिक) र संस्थागत (निजी) विद्यालयका शिक्षकहरूका आफ्नै फरक–फरक समस्या, बाध्यता र मानसिकता छन् । सार्वजनिक विद्यालयका सन्दर्भमा कुरा गर्दा, भय सिर्जना गर्नु नै आफ्नो प्रभुत्वको मुख्य सूचक ठान्ने चिन्तन बहुसङ्ख्यक शिक्षकमा हाबी छ ।
शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धा गरेर स्थायी नाम निकालेपछि ‘अब म शासक हुँ र विद्यालयमा आउने विद्यार्थीहरू शासित वर्गका हुन्’ भन्ने सामन्ती मानसिकता केही शिक्षकमा देखिन्छ । यसै शासकीय अहम्का कारण विद्यार्थीसँग हुनुपर्ने आत्मीय र संरक्षकत्वपूर्ण व्यवहारको साटो तुच्छ र हेपाहा व्यवहार हुने गर्छ ।
त्यसो त शिक्षण पेसालाई गौरवका रुपमा नलिई अन्य क्षेत्रमा अयोग्य भएकैले यस क्षेत्रमा आएको हुँ भन्ने मनोदशा भएका शिक्षक जीवनभर नै हीनताबोध र कुण्ठाग्रस्त भएका हुन्छन् । ससानो मौका मिल्नासाथ यहीँ मनोकुण्ठा क्रूरतामा रुपान्तरित हुन पुग्छ ।
यता निजी वा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूका समस्या भने अर्कै प्रकारका छन् । निजी विद्यालय सञ्चालक र प्रशासनले विद्यार्थीलाई जुनसुकै हालतमा नियन्त्रणमा राख्नुपर्ने र परीक्षामा उत्कृष्ट नतिजा ल्याउनैपर्ने कडा लक्ष्य दिएका हुन्छन् ।
अपेक्षित नतिजा हासिल हुन नसक्दा शिक्षकले आफ्नो जागिर र पेसागत असुरक्षा महसुस गर्छन् । यसका साथै प्रायः निजी विद्यालयमा पाइने न्यून पारिश्रमिक र त्यसले सिर्जना गर्ने घरायसी एवं आर्थिक तनावको सिधा असर कक्षाकोठामा पर्छ ।
परिस्थितिले शिक्षकलाई प्रतिशोधी बनाएकाले लक्ष्य प्राप्तिको बाधक विद्यार्थी नै हुन् भन्ने ठानेर उनीहरू नजानिँदो रूपमा विद्यार्थीमाथि मौखिक तथा शारीरिक दण्ड बर्साउने गर्छन् ।
आजको ज्वलन्त मुद्दा यस्ता जटिल सामाजिक, मनोवैज्ञानिक र पेसागत समस्याहरूका बिच विद्यालयमा हुने दण्ड–सजायको दिगो निराकरण कसरी गर्ने त भन्ने नै हो । यसको पहिलो र अनिवार्य सर्त शिक्षकको चिन्तन पद्धतिमा व्यापक सुधार र गलत भाष्यको करेक्सन नै हो ।
चाहे सामुदायिक विद्यालय हुन् वा संस्थागत, शिक्षकले आफूलाई ‘सर्वज्ञाता’ वा ‘शासक’ होइन, ‘सेवा प्रदायक’ र विद्यार्थीलाई ‘सेवाग्राही’का रूपमा स्वीकार गर्नुपर्छ । व्यावसायिकताको मर्मअनुसार सेवाग्राहीको पूर्ण सन्तुष्टि र सुरक्षा नै सेवा प्रदायकको क्षमताको अन्तिम मापदण्ड हो ।
यदि सेवाग्राही (विद्यार्थी) खुसी र सन्तुष्ट हुन सकेनन् भने सेवा प्रदायक (शिक्षक) को योग्यता र पेसागत दक्षतामाथि नैतिक प्रश्न उठ्छ । उनीहरूको कासमूमा यस सूचकको प्रतिबिम्बन हुनु अपरिहार्य छ ।
अहिलेसम्म सञ्चालन गरिएका विभिन्न प्रकारका शिक्षक तालिम, सचेतना कार्यक्रम र कानुनी साक्षरताले शिक्षकलाई सतही रूपमा ‘विद्यार्थी कुट्नु हुँदैन’ भन्ने सैद्धान्तिक ज्ञान त दिए तर उनीहरूको आन्तरिक सोच बदल्न सकेनन् ।
कानुनी कारबाहीको डरले शिक्षकले सामाजिक रूपमा आफूलाई नियन्त्रणमा राख्ने प्रयास गरे पनि कक्षाकोठाको बन्द परिवेशमा उनको मानसिक चिन्तन नै बाधक बनेर उभियो । त्यसैले अब बाह्य ‘हार्डवेयर’ (ऐन, कानुन, भौतिक पूर्वाधार र निर्देशिका) थपेर मात्र पुग्दैन, शिक्षकको आन्तरिक ‘सफ्टवेयर’ (मनोसामाजिक चिन्तन र मनोवृत्ति) रूपान्तरण गर्नु अनिवार्य भइसकेको छ ।
सन्तुष्टि वा सिकाइ कहिल्यै पनि त्रास, दबाब र भयबाट सिर्जना हुन सक्दैन । शिक्षण प्रक्रिया भावनात्मक सम्बन्ध, खुसी, आत्मीयता र सहकार्यबाट मात्र सम्भव हुन्छ । कक्षाकोठा भनेको शिक्षकले पहिले प्राप्त गरेका पुराना ज्ञान विद्यार्थीमाथि एकतर्फी पोख्ने वा हस्तान्तरण गर्ने थलो होइन ।
आधुनिक शिक्षाशास्त्रीय मान्यताअनुसार कक्षाकोठा विद्यार्थीको सहकार्य, सिर्जनशीलता, सञ्चार र समूहकार्यका माध्यमबाट ‘ज्ञान निष्पादन’ गर्ने पवित्र थलो हुनुपर्छ । जब कक्षाकोठालाई ज्ञान निर्माणको सहकार्य थलो बनाइन्छ तब शिक्षकको दण्ड दिने प्रवृत्ति स्वतः विस्थापित हुन्छ । यसका साथै कतिपय शिक्षकमा आफूले नै सिङ्गो शिक्षा संयन्त्र र विद्यालय थामेको ठान्ने ‘सुपरम्यान’ प्रवृत्ति देखिन्छ । शिक्षकले बुझ्नुपर्छ कि पूरै आकाश उनीहरू एक्लैले थामेका होइनन् । शिक्षक त विद्यार्थीभित्र जन्मजात रूपमा रहेका फरक–फरक प्रतिभा, क्षमता र सिपलाई प्रस्फुटित गराउने सहजकर्ता वा ‘उत्प्रेरक’ मात्र हुन् । विद्यार्थीले सोचेजस्तो सिकाइ उपलब्धि हासिल गर्न नसक्नुमा शिक्षक मात्र नभई उसको पारिवारिक वातावरण, सामाजिक परिवेश र व्यक्तिगत सिकाइ गति जस्ता अनेकौँ तत्त्व जिम्मेवार हुन्छन् ।
निष्कर्षमा जबसम्म शिक्षकको मनभित्र रहेको अनुशासनसम्बन्धी परम्परागत भाष्य, शासकीय सोच र पुराना सिकाइ सिद्धान्तलाई समयानुकूल परिमार्जन गरिँदैन तबसम्म कानुनी पानाहरू जतिसुकै कडा भए पनि हाम्रा विद्यालयहरू बालमैत्री र पूर्ण सुरक्षित हुन सक्दैनन् । बाह्य कानुन र दण्डको डरले भन्दा पनि शिक्षक स्वयंको मनोसामाजिक रूपान्तरण र चिन्तन पद्धतिको परिवर्तनले मात्रै कक्षाकोठालाई बालमैत्री बनाउन सक्छ । शिक्षकको ‘सफ्टवेयर’ रूपान्तरण गर्न सकिएमा मात्र विद्यालयहरू वास्तवमै भयमुक्त, सुरक्षित र शान्ति क्षेत्रका रूपमा स्थापित हुने छन् र सञ्चारमाध्यममा विद्यार्थी कुटिएका समाचारहरू सुन्नुपर्ने दुःखद बाध्यताको अन्त्य हुने छ ।
प्रकाशित: १९ भाद्र २०८३ १५:०९ शुक्रबार