रोहेज खतिवडा
पुराणका धेरै कहानीहरूमा एकदमै बलवान र शक्तिशाली पात्रहरू भेटिन्छन् । कसैले हराउन, पराजित गर्न नसक्ने त्यस्ता पात्रहरू आफ्नो पतनको कारण आफूसँगै लिएर आएका हुन्छन् ।
नेपालको राजनीतिमा यस्तो कुरा पटकपटक भइरहेको छ । सम्भवतः बालेन अर्को उदाहरण बन्दैछन् ।
गएरातिको स्टाटसमा उनले कुन शब्द प्रयोग गरे त्यो ठूलो कुरा होइन । अंग्रेजी भाषामा FUCK* को प्रयोग सन्दर्भ अनुसार विभिन्न अर्थमा हुन्छ । शीर्षक नै FUCK* लेखिएका थुप्रै किताबहरू छन् ।
उनले गाँजा खाएर लेखे कि रक्सी खाएर लेखे, अथवा पुरै होसहवासमा लेखे, त्यो अर्को कुरा हो । गाँजा खानु अहिले नेपालमा अवैधानिक छ । तर, संसारभरी सधैंभरी गैरकानुनी होइन । परम्पारगत रुपमा नेपाल (भारतमा गाँजा सेवन हुन्थ्यो । अमेरिकी दबाबमा प्रतिबन्ध लगाइएपनि यसको प्रयोग पूर्णरुपमा रोकिएको छैन । रक्सी हो भने आजको समाजमा रक्सी पिउनु प्रतिष्ठाको विषय बनाइएको छ ।
उनले कुन शब्द लेखे, के खाएर लेखे भन्ने कुरा मेरो विचारमा त्यति महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा चाहिँ उनले के लेखे भन्ने हो । उनले बेलाबेलामा लेख्ने यस्तै स्टाटस, उनको कार्यशैली, उनका बारेमा उनीसँग भेट्ने मानिसहरूले गरेको टिप्पणीहरू हेर्ने हो भने उनको बारेमा एउटा चित्र बनाउन सकिन्छ ।
हिजो उनले नेपालका दुई महाशक्ति छिमेकी र विश्वशक्ति अमेरिका तथा नेपालका प्रमुख पाँच राजनीतिक मुद्दालाई सोलोडोलो गाली दिए । पार्टी नभए पनि लोकप्रियताको आडमा बालेन अहिले एउटा पार्टी जस्तै छन् । यो स्टाटस म मात्रै सही छु, अरू सबै गलत हुन् र म नै शक्तिशाली छु भन्ने उनको मानसिकताको अभिव्यक्ति हो ।
यसलाई बुझ्न केहीसमय अघि अभियन्ता ईले उठाएको प्रश्नको जवाफ दिन उनले गरेको कमेन्टको भाषा हेर्नुपर्छ । त्यो कमेन्टमा उनले ईलाई वैकल्पिकहरूको एउटै पार्टी बनाउने कुराको नेतृत्व गर्न चुनौति दिँदै आफू ईको कार्यकर्ता भएर बस्न तयार भएको उल्लेख गरेका छन् ।
त्यसमा उनले लेखेका छन्, ‘देश त एकजना मन्त्री पनि नराखी म एक्लै बनाइदिनसक्छु । तर यसरी देश बन्दैन, म मात्रै बन्छु ।’
यसको पछिल्लो वाक्यले उनले ठीकै भनेका हुन् भन्ने लाग्छ, तर देश एक्लै बनाइदिनसक्छु भन्ने सोच कुन मानसिकताबाट आउँछ? भन्ने कुरा मनोवैज्ञानिक रुपमा हेर्नुपर्छ । तरले वाक्यको अर्थ त खण्डन गर्ला, तर तपाईंको मानसिकता खण्डन गर्न सक्दैन ।
यसअघि उनले केपी ओलीलाई गाली गर्ने नाममा सन्तान नहुने आमाबाबु मुसिनेगरी दिएको गालीको म यहाँ कुरा गर्न चाहन्नँ । तर, त्यसअघि सिंहदरबार जलाइदिन्छु र टुकुचामा गाडीदिन्छु भन्ने कुरा महेश बस्नेतले निकोलस भूसाललाई दिएको धम्की भन्दा कयौं गुणा डरलाग्दो कुरा हो । यो त म कानुन-विधि केही पनि मान्दिनँ भनेको हो नि । यस्तै धम्की उनले विगतमा अदालतलाई पनि दिएका छन् ।
महानगरका सडकहरू हिड्न योग्य बनाउन स्ट्रिट भेण्डर व्यवस्थापन गर्नै पर्ने थियो । तर, यसका नाममा ठेलागाडा व्यापारीहरूमाथि भएको अमानवीय हर्कतमा अहिलेसम्म माफी नमागेका बालेन आफूलाई विधि, कानुन र संविधानभन्दा माथि सोच्छन् । उनी शासकका रुपमा आफूलाई हेर्दा एक तानाशाहका रुपमा मात्रै देख्छन् । उनको यो मानसिकता मेयरका रुपमा उनले काम गरेको यो समयले देखाएको छ ।
भर्खरै प्रधानमन्त्री सुशीला कार्कीले उनका बारेमा गरेको टिप्पिणीले यो कुरा पुष्टि गर्छ, ‘उसले हाम्रो कुरा सुन्दैन, आफ्नै कुरा मात्रै राख्छ।’
अर्थात, बालेनलाई लाग्छ, मैले कसैको कुरा सुन्न जरूरी छैन, म नै सर्वज्ञ हूँ । म नै सही हुँ । म नै सत्य हुँ । यही मान्छे सत्ताको धुरीमा पुगेपछि सोच्ने हो, म नै राज्य हुँ ।
बालेनले बुझ्न जरूरी छ, जेन-जी विद्रोह खड्ग ओली विरूद्धमात्रै थिएन, खड्गप्रसाद ओली प्रवृत्ति विरुद्ध थियो । लोकतान्त्रिक चेतनामा हुर्किएको नयाँ पुस्ताले नयाँ खड्ग ओली खोजेको होइन, विधिको शासन खोजेको हो । उग्र राष्ट्रवाद खोजेको होइन, परिपक्व विदेशनीति र काविल कुटनीति खोजेको हो।
आज नेपालमा युवापुस्ताका जनसंख्या आधा छ । बालेन उनीहरू माझ लोकप्रीय छन् । पछिल्लो जेन-जी विद्रोहले उनलाई राष्ट्रिय राजनीतिको सबैभन्दा शक्तिशाली व्यक्ति बनाएको छ । मेयरका रुपमा उनले गरेका कतिपय कामहरू राम्रा र तारिफयोग्य छन् । व्यक्तिले कब्जा गरेका सार्वजनिक जग्गाको खोजी, नीजि स्कुल मा कानुनले अनिवार्य गरेको छात्रवृत्ति र नीजि अस्पतालमा गरिबलाई निशुल्क उपचारजस्ता कुराको कार्यान्वयनमा लिएको पहलकदमी प्रसंशनीय छ । पुरातात्विक सम्पदा संरक्षणमा उनी आफैंले देखाएको सक्रियता लगायताका दर्जनौं कुरा छन् ।
प्रतिगमन र लुटतन्त्रलाई ठेगान लगाएर विधिको शासनमा आधारित आर्थिक रुपमा समृद्ध लोकतान्त्रिक नेपाल बनाउने अवसर जेन-जी विद्रोहले सिर्जना गरेको छ । यसको नेतृत्व गर्न अवसर बालेनसँग छ । तर, यदी उनी छोटा ओली बन्न खोज्छन् भने यो पुस्ताले पक्कै पनि स्वीकार नगर्ला ।
रोहेज खतिवडाको फेसबुकबाट
प्रकाशित: १६ कार्तिक २०८२ १८:१० आइतबार



