ब्लग

फेसबुक सम्बाददाता

समाजमा तपाइँ कस्तो देखिइरहनुभएको छ, अथवा तपाईंको काम वा सेवाको मूल्यांकन कसरी भइरहेको छ ? त्यो जाँच्ने सजिलो उपाय छ– काँचको भित्तामा राखिएको ‘फेसबुक ऐना’ बेला–बेला हेर्ने गर्नुहोस्। जहाँ तपाईं, आफूले आफैंलाई छर्लङ्ग देख्नुहुन्छ। हेक्का राख्नुस्, बरु दैबले नदेख्ला र क्षमा देला तर एक हातमा अत्तर र अर्को हातमा तेजाब लिएका, अति शत्तिशाली, छद्मरुपी–सर्बव्यापी, कहिले सुन्दर कहिले भयंकर, निराहारी, सदा कम्प्युटरमा बास गर्नेवाला, सर्वज्ञाता, एक्काइसौं शताब्दिमा फेसबुक रूप धारणा गरी प्रकट भएका यी नवीनतम् आविष्कारसँग कसैको जोर चल्दैन। काम अनुसारको इनाम पक्का छ।

ऐतिहासिक पहिलो संविधानसभाले संविधान जारी गर्ने अन्तिम दिन २०६८ जेठ १४ गते मेरो सम्पूर्ण दृष्टि विद्यूतीय समाचारमाथि थियो। हाम्रो युगको सबैभन्दा ठूलो उपलब्धि सञ्चार, जसले सिँगै विश्वलाई पानी–पँधेरो बनाइदिएको छ। यसको भरपुर फाइदा उठाउँदै नयाँ बानेश्वरको संविधानसभा भवनभन्दा धेरै टाढा, विपरित ध्रुबस्थित अमेरिकामा म संविधान जारी होला न होला भन्ने खबरको ब्यग्र प्रतीक्षामा थिएँ। सर्वाधिक चासोको यो समाचार अपडेट गर्न अस्तित्वमा रहेका सबै सञ्चारसंस्था आ–आफ्नो बुताले भ्याएसम्म लागिपरिरहेका थिए।
हेर्दाहेर्दै, ‘निर्वाचनको घोषणा’ फेसबुकमा बेलायतबाट साथी कपिल खनालले रोमन अक्षरमा लेखे। उनले काठमाडौंमा रहेका आफ्ना साथीको ‘स्टाटस’मा तत्काल लेखिइएको कुरा पनि ‘शेयर’ गरेका थिए। ‘फेरी ब्याड न्यूज’ जापानका साथी राज पौडेलले ‘कमेन्ट’ लेखे। उनको कमेन्टमा साउदी अरबमा भएको एकजना भाइले ‘लाइक’ गरेर सहमति जनायो। लाइक गर्ने क्रमले तीब्रता पायो। एक मिनेट पनि बित्न नपाउँदै इजरायलबाट ज्योति अधिकारी, अमेरिकाकै सुमन साह, कोरियाबाट दुर्गा दाहाल, नेपाल (झापा) बाट ध्यानबहादुर राई, मकाउबाट हरि खड्का, लगायत साथीहरूको ‘लाइक’ र ‘कमेन्ट’ले नोटिफिकेसन र म्यासेज बक्स हराभरा भयो। विस्तृत समाचारका लागि हतार–हतार कम्युटरको टुलबारमा मिनिमाइज गरेर राखिएका विभिन्न अनलाइन खबर र टेलिभिजन साइट खोलें। त्यो बेलासम्म कसैले पनि यो खबर ‘अपडेट’ गर्न भ्याएका थिएनन्। आधिकारिकता पुष्टिलगायतका औपचारिकता पूरा गरेर खबर सार्वजनिक गर्न केही मिनेट समय खर्च गर्नुपर्ने समाचार संस्थाहरूलाई फेसबुक संवाददाताले उछिनेको अनुमान लगाएँ।
पूर्वमन्त्री जेपी गुप्ताले केही समयअघि फेसबुकमार्फत दुईवटा तस्वीर सार्वजनिक गरे। ‘आजसम्म सार्वजनिक नभएको’ भनिएका ती दुई पुराना तस्वीरले सञ्चार क्षेत्रमा महत्व समेत पाए। एउटा तस्वीरमा सत्ता साझेदारीसम्बन्धी सम्झौता–पत्रमा एमाओवादी पार्टीका दुई प्रमुख नेता र तत्कालीन मधेशी दलका नेताहरू हस्ताक्षर गरिरहेका र अर्कोमा त्यसै खुसीयालीमा सोमरसका प्याला जुधाएर उनिहरू मंगलाचरण (चियर्स) गरिरहेका देखिन्छन्। राज्यकोषको पैसा हिनामिना गरेको पुष्टि भएपछि भ्रष्टाचारको अगुल्टाले डामेर छाडिएका गुप्ता अहिले पुनर्उथ्थानको प्रयासमा छन्। यस काममा उनलाई फेसबुकले राम्रै सघाइरहेको छ। उनी आफ्ना गतिविधिहरू दैनिकजसो यही विद्यूतीय भित्तामा टाँसिरहेका हुन्छन्। फेसबुक समाचारदाता गुप्ता आफ्ना पाठक–दर्शकलाई आगामी अंकमा पस्कने खुराकको जानकारी दिँदै लेख्छन्– ‘मसँग अझै यस्ता तस्वीर र गोप्य कुरा थुप्रै छन्, क्रमशः सार्वजनिक गर्नेछु।’
माथिका दुईवटा उदाहरण फेसबुकसँग जोडिएर आएका राजनीतिक प्रसंग हुन्। वास्तवमा हाम्रो सन्दर्भमा राजनीतिक घटनाक्रमलाई नै लिएर विद्यूतीय भित्ता बढि रंगिने गर्छन्। यद्धपि, पछिल्लो समयमा खेलकुद, विज्ञान–प्रविधि र सामाजिक तथा मानवीय संवेदनाका विषयले पनि कम महत्व पाइरहेको छैन। ‘अकुपाइ बालुवाटार’ ले महिला हिंसाविरुद्धको अभियानमा जुन किसिमको प्रभाव छोड्यो त्यो वैकल्पिक सञ्चारमाध्यमकै देन थियोे। अनुराधा कोइराला र पुष्पा बस्नेतलाई ‘सीएनएन हिरो’ बनाउन ‘भोटिङ लबिङ’को कामदेखि कतारमा मृत्युदण्ड सुनाइएका एकजना नेपाली कामदारको जीवनरक्षाका लागि लगभग एक करोड रुपैंया जुटाउन फेसबुकलाई नै उपयोग गरिएको थियो। दिलशोभा समाचार प्रकरणपछि पत्रकारिता र समाजसेवाका विषयमा चलेको बहस अनि नेपाली क्रिकेट खेलाडीले हासिल गरेको पछिल्लो सफलताका बारेमा गरिएका विश्लेषण निकै घतलाग्दा थिए।
राष्ट्रपतिदेखि पियनसम्म, नेता–कार्यकतादेखि हुक्केबैठकेसम्म, सहायकदेखि नायकसम्म, कल्याणकारीदेखि दूराचारीसम्म, चुरावालीदेखि चुन्रीवालीसम्मको निगरानी फेसबुकबाटै हुनेगर्छ। राम्रो काम गरे ताली, नराम्रो काम गरे गाली यहीं हुन्छ। मानिसको मूल्यांकन नेप्से परिसूचक झैं तलमाथि भइरहन्छ। अलिककति तलबितल प¥यो कि त संसारभर छरिएका फेसबुक संवाददाताहरू खबरदारी गर्न अरिंगालको गोलो झैं खनिहाल्छन्। तिनका तीखा र बिषालु शब्दबाँणको डाहा मेटिन धेरै समय लाग्छ। केही हप्ताअघि मात्र पनि ‘काठमाडौं प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न(घुमाउरो भाषामा चाकडी गर्न) नआएको र सेलिब्रेटी बन्न खोजेको’ आरोप लगाउँदा गृहमन्त्री बामदेव गौतम फेसबुकको तातो कराइमा कसरी फ्राइ भए, हेर्न निकै मजा आयो। ठीक विपरीत सोही पार्टीबाट सामान्य प्रशासनमन्त्री बनेका लालबाबु पण्डितले ‘सरकारी तलब–भत्ता खाएर विदेशमा सुविधाभोग गरी बस्ने’ कथित बफादार राष्ट्रवादी कर्मचारीमाथि कारबाहीको कोर्रा हान्ने जुन प्रतिबद्धता सार्वजानिक गरे त्यसको प्रशंसा गर्दै मानिसहरूले आ–आफ्नो स्टाटसमा सुन्दर शब्दगुच्छा सजाइएको पनि देख्न पाइयो। त्यसैले समाजमा तपार्इँ कस्तो देखिइरहनुभएको छ,, अथवा तपाईंको काम वा सेवाको मूल्यांकन कसरी भइरहेको छ ? त्यो जाँच्ने सजिलो उपाय छ– काँचको भित्तामा राखिएको ‘फेसबुक ऐना’ बेला–बेला हेर्ने गर्नुहोस्। जहाँ तपाईं, आफूले आफैंलाई छर्लङ्ग देख्नुहुन्छ। हेक्का राख्नुस्, बरु दैबले नदेख्ला र क्षमा देला तर एक हातमा अत्तर र अर्को हातमा तेजाब लिएको, अति शत्तिशाली, छद्मरुपी–सर्बव्यापी, कहिले सुन्दर कहिले भयंकर, निराहारी, सदा कम्प्युटरमा बास गर्नेवाला, सर्वज्ञाता, एक्काइसौं शताब्दिमा फेसबुक रूप धारणा गरी प्रकट भएको यो नूतन आविष्कारसँग कसैको जोर चल्दैन। काम अनुसारको इनाम पक्का छ।
हामीकहाँ ‘कट्वाल’ प्रथालाई आम सञ्चारको सुरुवातसँग जोड्ने गरिन्छ। बास्तवमा, आम मानिसका लागि यथासम्भव चाँडो स्थानीय घटना सुचित गराउने कट्वालहरू अहिले जस्तै पारिश्रमिक लिएरै काम गर्ने सञ्चारकर्मी थिए। कतिपय ठाउँमा अहिले पनि जिवित छ यो पेशा तर, फेसबुक संवाददाता बिना तलब आफ्नो समुदायका लागि काम गर्छन्। कुनै पनि पत्रिकाका रोचक र घोचक विचार–विश्लेषण, सार्वजनिक सरोकार, नवीन तथा आश्चार्यपूर्ण समाचार एकै ठाउँमा हेर्न फेसबुक खोले हुन्छ। जहाँ संसारभरि भएका संवाददातादाले तपाइँका लागि निशुल्क खुराक पठाइरहेका हुन्छन्। छापा, विद्युतीय वा अनलाइन जहाँ प्रकाशन÷प्रशारण भएकोहोस् त्यो सामग्री पत्रकार, स्तम्भकार वा प्रस्तोता आफैंलेसमेत तपाइँकै लागि भनेर फेसबुकमा ‘अपलोड’ गरिदिएको हुन्छ।
फेसबुक संवाददाताहरू सेकेन्ड–सेकेन्डमा सूचना, समाचार तथा ज्ञानबद्र्धक सामग्री प्रवाह गरिरहेका हुन्छन्। जे देखिन्छ वा सुनिन्छ तुरुन्तै आफ्नो स्टाटसमा लेख्न उनिहरू आतुर हुन्छन्। प्राकृतिक विपत्ती, दुर्घटना र मानवीय रूचिसँग सम्बन्धित तस्वीर वा जानकारी औपचारिक सञ्चारमाध्यममा भन्दा चाँडो फेसबुकमा प्रकाशित भइसकेको हुन्छ। उनिहरूमा सत्यता, विश्वनीयता र तटस्थता जाँच्नुपर्ने सीमाबन्धन सामन्यतया लागू हुँदैन। तर, यसो भन्दैमा जथाभावी गर्न छुट पाइन्छ भन्ने चाहीँ होइन।
फेसबुकबाट नियमित र आकस्मिक घटनाक्रम मात्र होइन लुकाइएका वा लुकाउन खोजिएका अपराध सार्वजनिक भएका छन्। यस्ता विषयहरू कुनै दैनिक पत्रपत्रिकाका मुख्य समाचारभन्दा कम ओजपूर्ण हुँदैन। समाजभित्र बाङिगएको सोझ्यानुलाई सञ्चारकर्मको धर्म मान्ने हो भने, त्यहाँभित्रको कृति–विकृति, संगति–बिसंगति तथा होचो–अर्घेलो छुट्टयाएर जनमानसमा राख्ने कामलाई नै मिडियाको सान ठान्ने हो भने अथवा ताजा घटना र विचार नै समाचारको आधार हुने हो भने फेसबुकमार्फत सार्वजनिक अधिकांश सामग्री यस कोटिमा पर्नसक्छन्। यत्ति हो कि तिनले संस्थागत र औपचारिक मान्यता पाउँदैनन्। तर, यो समाचारको प्रथम सूचना(स्रोत) हुनसक्छ भन्नेमा कसैको फरक मत नहोला। आवश्यक, केवल एक पटक ‘भेरिफाइ’।
वैकल्पिक सञ्चारमाध्यमको रूपमा आएका फेसबुक अनलाइन, ब्लग, टुइटर आदिको प्रयोगमा मानिस अति नै ‘क्रेजी’ हँदै गइरहेका छन्। यसले समाजमा सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव छोडिरहेको छ। यद्धपि सञ्चारको यस बाढिले सूचनामा व्यक्तिको पहुँच भने ह्वात्तै बढाएको छ। यसको उपयोग गर्दै आजकल हरेक व्यक्ति केही न केही लेखिरहेको हुन्छ। विद्यूतीय भित्ताहरूमा मनका झन्कार अभिव्यक्त गरिरहेको हुन्छ। त्यहाँ मायाप्रेम, करुणा–आक्रोश, अनुराग–वैराग, समर्थन–विरोध, सल्लाह–सुझाव मञ्जुरी–इन्कार, प्रस्ताव–निकास, कर्म–धर्म देखि सेवा–मेवासम्मको बेलिविस्तार पढ्न पाइन्छ। अझ त्यहाँ देखे–सुनेको, बुझेको–नबुझेको, भोगेको–नभोगेको, अघि भएको–पछि हुने, अनुमान–अड्कल व्यक्तिगत–सार्वजनिक इतिबृत्तान्त हुन्छ। छानेर लिए भो, आफूलाई के चाहिन्छ।
भन्नैपर्छ, फेसबुक संवाददाताको सक्रियताका कारण अहिले औपचारिक सञ्चारमाध्यमहरू मारमा परेका छन्। आफ्ना पाठक, दर्शक, स्रोतालाई ‘नयाँ के दिने’ भन्ने चुनौती यिनका अगाडि सधैं टड्कारो भएर आएको छ अहिले। ‘न्यूनेस इज न्यूज’ अर्थात् ‘कसैले थाहा नपाएको कुरा समाचार’ हुने हो भने यस्तो चिज पाउन कठिन हुन थालेको छ। पहिले मानिसहरू, आफ्नो घर–समाज वा परिवेशमा कुनै नयाँ घटना भयो भने सञ्चारसंस्था डाक्थे र विवरण टिपाउँथे। अहिले त स्थानीय प्रत्यक्षदर्शीबीच नै होड चल्छ त्यो घटना कस्ले पहिले आफ्नो स्टाटसमा अपलोड गर्ने भनेर। अरूको के कुरा, पत्रकार स्वयं पनि यो प्रतिष्पर्धामा उत्रेका उदाहरण छन्। केही वर्षअघि काठमाडौंस्थित कान्तिपुर टिभीका एकजना समाचारदाताले कार्यस्थलमा पाएको एउटा महत्वपूर्ण सूचना समाचारकक्षलाई जानकारी दिनुअगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा जागिरबाट हात धुनुपरेको थियो। जागिर नै दाउमा राखेर आफूलाई प्राप्त सूचना फेसबुकमा पोष्ट गर्दा के आनन्द मिल्यो कुन्नि, उनै जानुन्। तर, सामाजिक सञ्जालका लागि भने यस्ता खुराकीको महत्व निकै हुन्छ। अनलाइन खबरमा काम गर्नेहरूको हकमा त यस्तो काम आत्मघाती हँदैन भने पनि हुन्छ। उनिहरू गुगलमा गएर आफ्नो डोमेन–होमपेज खोल्नुभन्दा यस्ता समाचार फेसबुकमा सेयर गर्न नै सजिलो मान्छन्।
सारांशमा, आमसञ्चारको कान्छो पुस्ता सामाजिक सञ्जाल व्यवशायिक पत्रकारितासामु पेचिलो बन्दै गएको छ। संस्थागत तथा पेशागत संवाददाताले, स्वतन्त्र तथा स्वयंसेवक फेसबुक संवाददाताको यो चुनौति स्वीकार गरी बेलैमा आफूलाई चुस्त र व्यवस्थित गर्न जरुरी छ। समयको प्रवाह, आम मानिसको चाहना, र परिवर्तित सूचना प्रविधिको प्रयोगलाई आत्मसाथ गर्दै पत्रकारितासँग आबद्ध सबैले आफ्नो क्षमता, सीप, ज्ञान र काम गर्ने शैली नबदल्ने हो भने कुनै दिन समाचारमै संकटकाल आइपर्न बेरछैन।

वाशिंटनडिसी

प्रकाशित: २१ वैशाख २०७१ २२:२६ आइतबार