'नो न्युज इज गुड न्युज' अर्थात् कुनै पनि समाचार नहुनु भनेको राम्रो समाचार हो रे। यस्तो भनाई छ। हो, रहेछ कि क्या हो। दशैँका बेला समाचारको खडेरी परेको छ। कति निष्ठुरी छौँ हामी सञ्चारकर्मी, समाचार खोज्दैछौँ। दशैँका बेला आउने समाचार भनेको दुर्घटना, झगडाको मात्रै हो। यस्तो समाचार आउनुभन्दा त नआउनु नै राम्रो। यस्ता घटना त हुनुभन्दा नहुनु नै राम्रो ! तर पनि समाचार पस्कनुपर्ने जागिर खाएपछि समाचार त लेख्नै पर्यो। तर खै त समाचार ?
'एक पटक सिस्टम बसिसकेपछि खासै गार्हो हुँदैन,' हामीले यही सोचेका थियौँ। भएको पनि त्यस्तै थियो। एउटा निश्चित ढाँचा बनिसकेपछि त्यसमा सामाग्री हाल्ने मात्र त हो नि। तर सबै साथीहरु विदामा बस्दा सामाग्रीको जोहो गर्न कम्ता गार्हो हुने रहेनछ। जिल्लातिरका संवाददाताहरुलाई व्यवस्थापनले सर्कुलर पठाइसकेको थियो- दशैँका बेला अनलाइन बन्द हुँदैन, समाचार पठाउनू। तर संवाददाताहरुलाई पनि दशैँ लागेको छ। वा भनौँ दशैँको वातावरणले उनीहरुलाई समाचार लेख्न उत्प्रेरित गरिरहेको छैन।
फोटो पत्रकार भास्वर ओझाले बिहानै फोटो उपलब्ध गराएर मात्र, नभए फोटोको पनि संकट नै पर्ने थियो आज। जिल्लातिरबाट समाचार नआए पनि दशैँको चहलपहलका फोटोमात्रै आइदिए पनि हुन्थ्यो नि जस्तो पनि लाग्छ मनमा। फेरि दशैँ जस्तो चाडमा रमिरहेकाहरुलाई सँधै कामैकाम मात्र गर्नुपर्छ भन्ने पनि त छैन, आराम पनि त चाहियो होला नि भन्ने मनमा पनि आउँछ। सुनसान कार्यालय परिसरमा समाचारशून्य स्थितिसित जुध्दै अनलाइनको संसारमा रम्दैछु म।
प्रकाशित: ११ आश्विन २०६६ १२:३१ आइतबार