कला/साहित्य

आकाश छुन हिडें भन्थ्यौ, धुरीबाटै फर्क्यौ किन?

मुक्तक

१) मुक्तक

मायाले झ्याप्पै ढाकेर गएका छौ,

अमृतको स्वादै चाखेर गएका छौ,

सम्झाएकी हुँ बिर्सन्छौ कि भनेर

वंशको बीजै राखेर गएका छौ।

२) मुक्तक

मुस्कानले थुक नै निल्ने बनायो,

हेराइले दिल नै चिल्ने बनायो,

पिरती भन्ने अनौठो रैछ,

जाडोको निहुँले मिल्ने बनायो।

३) मुक्तक

विकृति र विसङ्गति सगरमाथा चढ्यो,

अहंता र घमण्ड धेर मान्छेभित्र गढ्यो,

मानवता शान्ति सद्भाव सबै लुके भागे,

सुनको भाउ बढेसरी उद्दण्डता बढ्यो।

४) मुक्तक

मनमुटु गाँस्ने भन्दै भ्रमै मात्र छर्क्यौ किन?

एकान्तमा भेट्ता पनि नजरबाट तर्क्यौ किन?

पूरा गर्न नसक्नेको बाचा खै के पत्याउँ म,

आकाश छुन हिडें भन्थ्यौ धुरीबाटै फर्क्यौ किन?

५) मुक्तक

भिड्नै अघि सर्न सक्छन् लक्ष्यहीन दलहरू,

भ्रम नै मात्र छर्न सक्छन् लक्ष्यहीन दलहरू,

चनाखो र विवेकशील त जनता आफैं बन्नुपर्छ,

बुथ नै कब्जा गर्न सक्छन् लक्ष्यहीन दलहरू।

प्रकाशित: १७ माघ २०८२ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App