कला/साहित्य

सतीले सरापेको देश: यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ!

मुक्तक

१) मुक्तक

लाग्दैन किन तिमी अचेल खास जस्तो

लाग्छ तिम्रा यादहरू पनि बतास जस्तो।

कहिले समयले कहिले मान्छेले दास बनायो

यसैले देखिन्छु म दुनियाँका लागि लास जस्तो।।

२) मुक्तक

पीडा थियो खुसी थियो त्यो सुस्केराभित्र

दमन थियो यातना थियो दुश्मनको घेराभित्र।

आँखाले गल्ती गर्दो रहेछ मनले भरोसा गर्दोरहेछ

के थाहा जहर मिसिएको सुन्दर त्यो चेहराभित्र।।

३) मुक्तक

टुकीलाई पनि माया गर्ने त्यो पुतली रहेछ।

मैनबत्तीलाई हेर त अरूको लागि आफू जलिरहेछ।

बाआमालाई वृद्धाश्रम लगेर छोडेको छोरा

दिनहुँ त्यही बाटो उ रक्सी पिएर हल्लिरहेछ।।

४) मुक्तक

बाटोले पनि गन्तव्य हराउन सक्छ

ऐनाले नि कोही मन पराउन सक्छ।

थाहा छ यो सतीले सरापेको देश हो

यहाँ सरकार नि अपराधीसँग डराउन सक्छ।

५) मुक्तक

आँखाले कहिल्यै गुनासो गरेन आँसु झर्दा पनि

कोही शोक मनाउँछ कोही उत्सव मान्छे मर्दा पनि।

भाग्य लेख्ने निधारमा हो सोचेको कहाँ हुन्छ र

भरोसा लाग्दैन आफ्नाको आफू एक्लै पर्दा पनि।।

६) मुक्तक

स्वर्ग लाग्छ मलाई त राम्रो गाउँ घर लाग्छ

सहरका मान्छेहरू साँच्चिकै आडम्बर लाग्छ।

आदर्श घोक्छ र शिष्टता पिउँछ यो सहर पनि

यसकारण यहाँका हर चिजहरु भयंकर लाग्छ।।

प्रकाशित: २१ कार्तिक २०८२ ०७:२५ शुक्रबार