कला/साहित्य

तपाईं पो राष्ट्रवाद!

व्यङ्ग्य

‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ समले त्यसै लेखेका होइनन्। आखिर देश भनेको मानचित्र मात्रै होइन, देशसँग मन, मुटु, मस्तिष्क सबै जोडिएर आउँछन्। जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी उर्फ जन्मेको ठाउँ र जन्म दिने आमा स्वर्गभन्दा पनि विशिष्ट हुन्छन्, दुर्लभ हुन्। यसले जोडेको भावनासँग खेल्न खोज्ने देशको नेतृत्व भएपछि लोकको के लाग्छ? नागरिकता नै बेच्ने, देशलाई लुछीलुछी घिच्नेले राष्ट्रवादको कुरा गरेको पटक्कै नसुहाउने रहेछ। विदेशी मालिकको चाकडीमा लाग्नेले नै राष्ट्रवादको भाषण गर्छ। दुःखको कुरो राष्ट्रवादका कुरामा ठुलाठुला डिङ हाक्नेहरू नै बाहिरी ढोङ मात्र देखाउँछन्। आफूलाई असल राष्ट्रवादी र अरूलाई कमसल भन्नेहरू पनि ठाउँ ठाउँमा आफ्नै कुरा काट्छन्, आफूलाई राष्ट्रका नागरिक भएकोमा गर्व होइन, लज्जा अनुभव गर्नुपर्नेगरी मूर्तिकै देश पो बनाए त !

राष्ट्रवादी नामका अगुवा उही बाटो भएपछि आशा कसरी गर्नु? त्यो पनि दोस्रो पुस्ताका लागि झन् झन् निराशा हुने कुरा गर्छन्। धाक र रवाफ देखाउन परे अर्काकै राष्ट्रको बखान गर्नुपर्ने, कुराकानी, अन्तर्वार्ता जेमा पनि परचक्रीकै उदाहरण दिनुपर्ने, विदेशकै अर्थ, उद्योग, वाणिज्यदेखि चलचित्रसमेत अर्काकै हेर्ने, अर्काकै राम्रो देख्ने अनि त्यसैलाई आफ्नो राष्ट्रबिच तुलना गरेर आफैंलाई खुम्च्याउने प्रवृत्ति हामीभित्रै छ।

अर्काको राम्रो र आफ्नो नराम्रो भन्ने अनि कसरी हुन्छ असल राष्ट्रवाद? पुर्खाले यही भूमिकाका लागि प्राण आहुति दिए, एक थोपा रगत रहेसम्म आफ्नो स्वतन्त्रता र स्वाभिमानका लागि लडिरहे। हामी स्वार्थका लागि पराधिन बन्छौं, आफ्नो जीवनलाई सम्पन्न बनाउन अर्काकै चाकडी गर्छौं, अनि कसरी बन्छ मुलुक? हामी सधैं अर्काकै लागि मिहिनेत गर्छौं। आफ्ना लागि चाहिँ हात मोल्छौं, हात थाप्छौं अनि खोज्छौं राष्ट्रियता। देशका दक्ष जनशक्ति हुन् कि अन्य, सबैलाई अर्काकै विकासले तानेको छ। अनि हामी नै हाम्रो देशमा के छ भन्छौं।

हाम्रा शाखा सन्तानलाई अरूकोमा बाँध बनाउन कम्मर कस्ने पनि हामी। शक्ति, बुद्धि र विवेक अर्कैका लागि सुम्पेर आफ्नो देशमा केही बनेन भन्नु पनि हाम्रो विद्वता नै हो। देशले लाखौं खर्च गरेर उत्पादन गरेको दक्ष जनशक्ति देशका लागि सपना देख्छन्। यता भने काम गर्ने र गराउने वातावरण नै बन्दैन। निराश युवा झोला बोकेर हुत्तिन्छन् परदेश अनि नेतृत्व देख्छ समृद्धिको सपना। अनि देश भताभुंग हुँदैन?

फुर्सदको समयमा दुई चारजना जम्मा गरी राष्ट्रवादको गफ गर्न हामी माहिर छौं। अर्कैको राष्ट्रियताको सम्मान गर्छौं, यही समय राष्ट्रको उन्नति, भलाइका लागि खर्च गर्दैनौं। समाजसेवाका कुरा गर्नेहरू बिनालाभ डेग सर्दैनन्, कुनै सामाजिक काममा फुर्सद नभएको बहाना बनाउँछन् र गफ चुट्छन्। अनि उन्नतितर्फ बढेन भन्ने पनि तिनीहरू नै हुन्छन्। गजब छ हाम्रो संस्कृति।

अर्काको उन्नतिको बखानले मात्र राष्ट्र बन्छ? अर्काको विकाससँग तुलना गरेर मात्र परिवर्तन हुन्छ? जिम्मेवारीलाई नबुझ्ने, बुझे पनि बुझपचाउने अनि आफ्नो उन्नतिको बाटो आफू नहिँड्ने। काम आफैंले नगरी अरूको पाउ मोलेर हुन्छ? पराधीनतामािथ गर्व गर्ने, आफ्नो चाहिँ भएको पनि बिगार्ने अनि आफैंलाई विचरा भन्न पनि पछि नपर्ने द्वैध चरित्र भएपछि कसको के लाग्छ? कहिले सुध्रिएला हाम्रो मति?

सहयोगी हातहरू जति भए पनि सहयोग लिनेले कहिल्यै पाएँ नभन्ने। पाउनेले पाउँ नभनेपछि दिनेले पनि कति देओस्। डाक्टर, इन्जिनियर, पाइलटजस्ता प्राविधिक पनि अर्काकै राष्ट्र बनाउन श्रमसिप बेच्ने अनि विकासको पूर्वाधार भएन, भताभुङ्ग भयो मात्र भनेर हुन्छ त? राष्ट्रले जन्माएका सपुत आफ्नै आङ कन्याएर छारो उडाउनेहरूसँग कसरी बच्न सक्छन्? आफैंलाई असल राष्ट्रवादीका रूपमा गौरवान्वित महसुस गर्न नसक्ने अग्रजले राष्ट्रवादको कुरा गरेको पनि नसुहाउने। कमसेकम राष्ट्रवादको गौर नगरे पनि राष्ट्रबारे नमिठा कुरा नगरिदिए त हुन्थ्यो नि। त्यो पनि गर्न नसके केको सच्चा नागरिक? केको राष्ट्रवादी? देशको सीमा मिचिन्छ। सदनमा कुर्लन्छौं, सडकमा चर्का नारा उराल्छौं तर त्यसको समाधानका लागि केही गर्दैनौं। केवल बहसको विषय बनाउँछौं अनि लाज पचाएरै मिच्नेको आतिथ्य ग्रहणमा नाक फुलाउँछौं।

आफ्नो स्वार्थका लागि लाजै पचाई आतिथ्य ग्रहण गरेर तलुवा चाट्नु पनि त विशेषता भइसकेको छ। त्यहाँ कहाँ छ राष्ट्रवाद? जति राम्रो नीति बनाए पनि, विश्वको उत्कृष्ट संविधान बनाए पनि हामी झन् झन् गरिब र अराजक किन बनिराखेका छौं?

हुन त जहाँ कङ्गाल, त्यहाँ चण्डाल भन्छन्। भोकले चेतनालाई उठ्नै दिँदैन। कतिसम्म निर्लज्ज, भए नभएका कुरा गरेर ठुलो बन्नुपर्ने, नियम मिच्नुपर्ने, असहायलाई थिच्नुपर्ने, हुने नहुने सबै कुरा घिच्नुपर्ने !

आफू समाजको गन्नेमान्ने भएका नाताले नीतिनियम मिच्छौं, आफ्ना सहकर्मीलाई मिच्न लगाउँछौं अनि कसरी बन्छ असल राष्ट्र? कमसेकम देश बनाउन कसरत नगरे पनि बिगार्ने केही काम नगरे पनि हुन्थ्यो। हाम्रो बुद्धिविवेकको प्रयोग सही ठाउँमा गर्न सके भोलिको हाम्रो भविष्य अन्योल त हुँदैनथ्यो। देशप्रति सकारात्मक कुरा सिकाए पनि त असल राष्ट्र बन्न सक्छ नि। त्यतिसम्म पनि गर्न नसक्ने हामीमा कहाँ छ राष्ट्रवाद? हुने खानेको नाममा हाम्रा सन्तानलाई विदेशप्रतिको मोह देखाउँछौं। उतै पुर्‍याउँछौं। अनि देशको सक्षम जनशक्ति सबै विदेशतिर पलायन हुन्छन्। सिपविहीन, दक्षताविहीन भएका हामी फुर्सदको समय हावाखोरीमै बिताउँछौं।

दुःखको कुरो हामीभित्रको अन्तर्घाती आत्मा अर्काको भलो देख्न नसक्ने मन, व्यक्तिभित्रको कुविचार, व्यक्तिवादी अनि फेरि हिजोको राष्ट्रभक्तिको उदाहरण दिने हामीहरू नै। हिजोका सपुतहरूको गुणगान गाउने हामी आज फुइँ लगाएर कुरा गरिरहेका छौं। विचार र व्यवहार भिन्न छ। राष्ट्रलाई दलदलमा फसाउनु नै हो त राष्ट्रवाद? समय फेरिएको हो वा अर्थ, व्यक्ति, समाज बुझ्ने कसले? आफूलाई निकम्मा घोषित गरेर के प्रमाणित गर्न खोजेका हौं हामी?  

प्रकाशित: १७ श्रावण २०८२ ०८:०३ शनिबार