कला/साहित्य

पृथक् प्रेमकाे फूल

दुई कविता

१) तिमी र ममा

भिन्नता धेरै रहेछ

तिमी र ममा

म बगरको ढुङ्गा

तिमी फूलको थुँगा

फरक त्यति

म टुक्रिएर छरिएको

तिमी फक्रिएर कसैबाट सजिएको

म घामको प्रतीक्षामा रुमलिरहेको  

खोंच थिएँ

तिमी पहाडको अग्लाइमा

मस्त तापको राप थियौ

त्यसैले होला तिमीमा  

जवानी जस्तै मात चढिरहेको

म ढल्किंदै गैरहेको

साँझ जस्तै अँध्यारो  

पर्खिरहेको!

तैपनि मलाई अँध्यारो छिचोल्दै

बिउँझेको बिहानी मन पर्छ

छालको चपेटामा

रेटेर पनि मलाई

बगेको बहाव मनपर्छ

आखिर फरक त 

त्यत्ति हो

तिमी भन्छौ संघर्षबिनाको

जीवन जिउँछु

म लडेर पनि

अझै जीवन जिउने  

साहस बटुल्छु!

२) पृथक् प्रेमकाे फूल

हरेक साँझ

तिम्रो नाम लिएर  

रात चाहर्थें

तैपनि तिम्रो स्पर्श अगावै

रात कट्छ

मेरो निरीह अपांग  

बिउँझेको हुन्छ

फेरि उही तिम्रो चाहमा

आधा शरीर नचलेको मेरो

अपाहिज शरीर पनि

बितेको वर्षौ भयो 

म त्यसै लडिरहेका थिएँ

तर तिम्रो स्निग्ध आँखा हेर्दै

म अझै बाँचिरहेका थिएँ

ग्लानिले म रुझ्दै

तिम्रो सपना टुटाउँदै थिएँ

नियतिको आँखामा भावीको पर्खालमा

तर त्यहाँ तिम्रो केही  

प्रतिक्रिया थिएन

गुनासो पनि थिएन  

बरु ममा अतृप्त वासना थियो  

चल्नै नसके पनि

किन्तु तिमी पृथक्

प्रेमकाे फूल रहिछौ

जुन पुजनीय थिइन्  

जुन श्रद्धाका फूल थिइन्।

प्रकाशित: ३१ श्रावण २०८२ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App