कला/साहित्य

इन्फा अवार्डमा ‘ऊनको स्वीटर’ को दबदबा, निर शाह र विपिन उत्कृष्ट अभिनेता

 तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) शनिबार काठमाडौंको होटल याक एण्ड यतिमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना मगर उत्कृष्ट अभिनेत्री, नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएका छन्। त्यस्तै पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित भए।

 नेपाली चलचित्र, कलाकार, संगीतकर्मी तथा प्राविधिकको योगदानलाई सम्मान गर्दै आयोजना गरिएको समारोहमा चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो।

यस वर्षको इन्फा अवार्डका लागि २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो। ती मनोनयनबाट निर्णायक मण्डलले उत्कृष्ट विजेता चयन गरेको आयोजकले जनाएको छ।

अवार्डको निर्णायक मण्डलमा हरिहर शर्मा जुरी संयोजक तथा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा जुरी सदस्य रहेका थिए।

संगीत विधातर्फ ‘काफ्नले’ बाट झुमा लिम्बु उत्कृष्ट पार्श्व गायिका बनिन्। ‘फुलहरु’ बाट सुजन चापागाईंले उत्कृष्ट पार्श्व गायकसँगै उत्कृष्ट संगीतकारको अवार्डसमेत जिते। सोही चलचित्रका लागि हर्क साउद उत्कृष्ट गीतकार घोषित भए।

‘जेरी अन टप’ बाट मोहक श्रेष्ठ उत्कृष्ट पार्श्व संगीत (बीजीएम), निमेश श्रेष्ठ उत्कृष्ट सम्पादन तथा दुलिप रेग्मी उत्कृष्ट छायाँकार घोषित भए।

त्यस्तै रामजी लामिछानेले ‘मोहर’ (चाहिँदैन) गीतका लागि उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाए भने (राम नाम सत्य) बाट श्री श्रेष्ठ उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जित्न सफल भए ।  

‘दि ब्लू लाइट’बाट सृष्टि श्रेष्ठ उत्कृष्ट खलपात्र,  ‘अभिमन्यु’ बाट प्रकाश दाहाल उत्कृष्ट सह–अभिनेता तथा ‘जेरी अन टप’ बाट आँचल शर्मा उत्कृष्ट सह–अभिनेत्री घोषित भए।

‘हर्ष’ बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता र ‘श्री बुकुरो’ बाट लक्ष्मी गिरी उत्कृष्ट चरित्र अभिनेत्री बनिन्।

त्यस्तै ‘झरिपछिको इन्द्रेणी’ बाट बिमोचन दवाडी उत्कृष्ट नव–अभिनेता तथा ‘माइतीघर’ बाट श्यामाश्री शेर्पा उत्कृष्ट नव–अभिनेत्री घोषित भइन्। उषा उप्रेतीले इन्करेजमेन्ट अवार्ड–अभिनेत्री प्राप्त गरिन्।

लोकप्रिय विधामा पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित भए। दुवैले दर्शकको रोजाइमा आफूलाई अब्बल सावित गर्दै लोकप्रियताको अवार्ड हात पारे।

कविता नेपालीले भने ‘पर्फमर अफ द इयर’को अवार्ड प्राप्त गरिन्।

जुरी अवार्डतर्फ ‘सिटामोल’ बाट सौगात मल्ल जुरी अवार्ड–अभिनेता घोषित भए। 'रमिताको पिरती’ बाट शुदिप्ता अधिकारीले जुरी अवार्ड–निर्देशक प्राप्त गरिन् भने ‘गुन्यो चोलो’ले जुरी अवार्ड–फिल्मको सम्मान प्राप्त गर्‍यो।

मुख्य विधामा ‘ऊनको स्वीटर’ बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन्। निर शाह र विपिन कार्कीले क्रमशः ‘परान’ र ‘ऊनको स्वीटर’ का लागि उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरे।

‘ऊनको स्वीटर’ बाट नविन चौहान उत्कृष्ट निर्देशकसँगै उत्कृष्ट पटकथाको अवार्डसमेत जित्न सफल भए। ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रको मुख्य अवार्ड हात पार्दै समारोहमा आफ्नो बलियो उपस्थिति देखायो ।  

समारोहमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो।

अवार्ड समारोहमा पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी। लेप्चालगायतका कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए।

इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीले समारोहले अन्तर्राष्ट्रिय स्तरको अवार्ड समारोह आयोजना गर्न सफल भएको बताए।

“लाइट, साउण्ड, स्टेज र पर्फमरहरूको प्रस्तुतिले अवार्ड समारोहलाई विश्वस्तरीय स्वरूप दिएको प्रतिक्रिया कलाकार तथा पाहुनाहरूबाट पाएका छौं। नेपालमा पनि यति ठूलो स्तरको अवार्ड समारोह गर्न सकिन्छ भन्ने विश्वास यस कार्यक्रमले थप बलियो बनाएको छ,” कार्कीले भने।

समारोह इन्फा इभेन्ट्स नेपालका अध्यक्ष सुनिल श्रेष्ठ तथा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तानको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीसहित आशिष पन्त, टंक भट्टराई, मनोज केसी, राज पाण्डे र शुष्मा पौडेलको टिम सक्रिय थियो।

सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न भएको इन्फा अवार्डको तेस्रो संस्करण पहिलोपटक नेपालमा आयोजना गरिएको हो। आयोजकका अनुसार आगामी संस्करण विदेशी भूमिमा अझ परिस्कृत र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिनेछ।

प्रकाशित: ३१ श्रावण २०८३ १८:५४ आइतबार