कला/साहित्य

नेपाल एभरेस्ट फिल्म फेस्टिभलका विजेता सम्मानित

चीनको हुनान प्रान्तस्थित छाङ्सामा गत अप्रिल १४ देखि १९ सम्म सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ (नेपाली चलचित्र सप्ताह) का उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ।

नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा चीनबाट आएको ८ सदस्यीय प्रतिनिधिमण्डल, नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

चीनका प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थीहरूको टोलीले डा. सिमोन किउको संयोजकत्वमा गरेको मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा छनोट गरिएको आयोजकले जनाएको छ।

उत्कृष्ट चलचित्रको अवार्ड ‘एन्जिला’ ले प्राप्त गर्दै ४ हजार अमेरिकी डलर नगद पुरस्कार जित्यो। ‘तेल भिसा’ का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार अमेरिकी डलर प्राप्त गर्न सफल भए।

यस्तै ‘छक्का पञ्जा’ का दीपकराज गिरी उत्कृष्ट अभिनेता तथा ‘कबड्डी ४’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। दुवैले जनही १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे।

प्राविधिकतर्फ ‘महाजात्रा’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाकार र बनिस शाह र विकास दाहाल  ‘हस्टेल ३’ उत्कृष्ट सम्पादन विधामा पुरस्कृत भए। दुवै विधाका विजेतालाई १–१ हजार अमेरिकी डलर प्रदान गरिएको थियो।

समारोहमा नेपाल र चीन चलचित्र सहकार्य सुदृढ बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई पनि विशेष सम्मान गरिएको थियो। फेस्टिभलका मुख्य प्रायोजक तथा गुवाङझाउ सिगुआङयुन टेक्नोलोजीका अध्यक्ष लि हानलाई विशेष सम्मान प्रदान गरियो। साथै, नेपाल–चीनबीच चलचित्रमार्फत सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएको भन्दै चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।

चिनियाँ टोलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र नेपालतर्फका फेस्टिभल अध्यक्ष करुण थापालाई नेपाल–चीन सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष सम्मान अर्पण गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै फेस्टिभलका संस्थापक अध्यक्ष लि हङ्सुले कला र सिनेमाको कुनै भौगोलिक सीमा नहुने उल्लेख गर्दै नेपाल र चीनबीच चलचित्रमार्फत सांस्कृतिक आदानप्रदान अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

नेपालतर्फका फेस्टिभल अध्यक्ष करुण थापा ले यो पहल नेपाली चलचित्रका लागि चिनियाँ सिनेमा हल र ओटीटी प्लेटफर्मसम्म पुग्ने ऐतिहासिक अवसर भएको बताए।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चीनमा नेपाली चलचित्रप्रति देखिएको उत्साह सकारात्मक रहेको उल्लेख गर्दै चाँडै नेपाली चलचित्रले चिनियाँ बजारमा उल्लेखनीय व्यावसायिक सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

समारोहका प्रमुख अतिथि वरिष्ठ अभिनेता हरिहर शर्माको आह्वानमा उपस्थित सम्पूर्ण चलचित्रकर्मीले उठेर चिनियाँ प्रतिनिधिमण्डललाई ‘स्ट्यान्डिङ ओभेसन’ दिँदै सम्मान व्यक्त गरेका थिए।

यस अवसरमा चिनियाँ लगानीकर्ता तथा आयोजकहरूले नेपाली चलचित्रमा सहउत्पादन र लगानी गर्ने गम्भीर रुचि व्यक्त गरेका छन्। साथै, आर्टिफिसियल इन्टेलिजेन्स  प्रविधिको प्रयोग गरी निर्माण हुने नेपाली चलचित्रलाई चीनका प्रमुख ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन गर्ने विषयमा पनि सहकार्य अघि बढाउने सहमति भएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ आगामी संस्करणहरूमा अझ विस्तारित स्वरूपमा आयोजना गरिनेछ भने पुरस्कार राशि र अन्तर्राष्ट्रिय सहभागिता पनि थप वृद्धि गरिने योजना रहेको छ।

प्रकाशित: ६ श्रावण २०८३ १३:५२ बुधबार