कला/साहित्य

किन हेर्नुपर्ने ‘अभिमन्यु : च्याप्टर-१’ चलचित्र?

‘अभिमन्यु : च्याप्टर-१’ मंसिर १८ गते नेपाली र हिन्दी भाषामा नेपालभर एकसाथ प्रदर्शनमा आउँदै छ।

लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ। केही संयोगबीच रिलिज हुने ‘अभिमन्यु : च्याप्टर-१’ किन हेर्ने भन्ने  साेधाइमा केही जवाफ छन्।

पहिलो कारण

यो सिनेमा कामेश्वर चौरसियाको पहिलो लिड रोल रहेको चलचित्र हो। दुई दशक चलचित्रमा काम गरेपछि उनले पहिलोपटक सोलो लिडको अवसर पाएका छन्। त्यसैले आफूलाई प्रमाणित गरेर देखाउन पनि उनले कडा मेहनत गरेका छन्।

दोस्रो कारण

लक्ष्मी बर्देवाको पनि यो पहलो लिड रोल भएको चलचित्र हो। उनले यसअघि पटकपटक अन्य चलचित्रमा पनि सोलो लिडमा काम गरेकी थिइन्। चार चलचित्र रिलिज रोकिएर बस्दा उनले मुख्य भूमिकामा काम गरेका कुनै चलचित्र प्रदर्शनमा आएका छैनन्।

लक्ष्मीले सोलो लिड रहेको रिलिज हुने ‘अभिमन्यु’ पहिलो चलचित्र हुनेछ। त्यसैले लक्ष्मीको लिड रोल रहेको चलचित्र कस्तो रहेछ जान्न पनि यो चलचित्र हेर्नुपर्नेछ।

तेस्रो कारण

पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले बनाएको चलचित्र हो, ‘अभिमन्यु’। ‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा मात्रै करिब ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेर अहिलेसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाएको थियो।

ऐतिहासिक रूपमा सफल चलचित्रका निर्माताले बनाएको दोस्रो चलचित्र कस्तो छ भनेर थाहा पाउन पनि यो सिनेमा हेर्नुपर्नेछ।

चौथो कारण

निर्माता विनोद पौडेलले दोस्रो रोजाइमा रहेका कलाकारलाई लिएर ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक रूपमा सफल बनाए। अहिले पनि उनले ‘पूर्ण बहादुरको सारङ्गी’मा जस्तै कसैले पनि सोलो लिडमा नलिएका कलाकारलाई लिएर चलचित्र बनाएका छन्। त्यसैले यो पटक पनि उनले किन रिस्क लिएर फेरि पनि अरूले लिडमा अफर नगरेको कलाकारलाई लिएर चलचित्र बनाए त्यसका लागि पनि यो सिनेमा हेर्नुपर्नेछ। केही न केही सबल पक्ष नभई उनले पक्कै पनि यो रिस्क लिएनन् होला, त्यसैले पनि यो सिनेमा हेर्नुपर्नेछ।

पाँचौँ कारण

निर्माता पौडेलले यो पटक चलचित्र एउटा भोजपुरी फ्लेबरको गीत बनाएका छन्। मुख्य अभिनेता मधेसी मुलको राखेका छन्। पूरै मधेसको विषयमा चलचित्र बनाएका हुन् अथवा के छ कथा? यसका लागि पनि ‘अभिमन्यु’ हेर्नुपर्नेछ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन्।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ। यो चलचित्र भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ।

प्रकाशित: १४ मंसिर २०८२ ११:२१ आइतबार