कला/साहित्य

‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट?

चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन्। निर्माण पक्षले आफ्नो सिनेमा ‘रोल नं १’ को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ।

यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन्। जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा यो सिनेमाको टिकट पाइनेछ।

विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका छन्।

“स्कुल, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाइ अब सेभेन सिज सिनेमाले चलचित्र रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ,” निर्माता पौडेलले भने, “ नेपालभरका सहभागी सिनेमाघरहरूमा ५० प्रतिशत छुट लागु भइसकेको छ।”

शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको निर्माता पौडेलले बताएका छन्।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन्।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’ लाई महेश दवाडीले लेखेका हुन्।

शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ।

प्रकाशित: ४ असार २०८३ ०९:३९ बिहीबार