कला/साहित्य

भोटेकोशी किन आफू मात्रै बगेन?

कविता

तैरिए आफ्नाहरू बाढीमा

नफेरेपछि सास त्यो ज्यानलाई नदुख्दो रैछ

मान्छेले छुट्याइदिएको अंशमा

गुजारा नदीले कहिल्यै नगर्दो रैछ

सानो घाउ

छिनभरको दबाब

नथेग्ने मान्छेलाई

एकै पलमा पहाडै खसी बोल्नै नदिई थेगाउँदो रैछ

कस्तो भावना उम्रियाे मान्छेमा

सर्वस्व बगेको बगरमा

सिलिन्डर पो भेटाउँदो रहेछ

देशको सभ्यता बग्यो

समृद्धिको पुल बग्यो

मान्छेहरूको सर्वस्व बग्यो

बग्न बाँकी केही रहेन

धेरैले एआइलाई सोद्धै छन्,

कार्यकर्ता गुगलमा खोज्दै छन् 

म सोच्दैछु हैन यो विध्वंसले पुगेन?

हिमाल नै  खस्यो उसले बग्ने ठाउँ खोज्यो

यसकाे साइत र निवेदन नहुँदो रहेछ

जुट्नुपर्ने, उठाउन बगेको शहर

गलेको मन र हारेको देशलाई

तर कार्यकर्ताको मन नरुँदोरहेछ

भदौ उस्तै लाग्यो रे जस्तै बयासी

हिमाल रिसायो बाढी उर्लियो रे

बालेन मुक्तिनाथ गयसी

कस्तो भावनाको विकास हुँदो रैछ

भगवान् मान्छे झोले भएसी

काँप्दै छन् यी हातहरू

लेख्दै गर्दा यी चित्रहरू शहर बन्यो खण्डहर

देश बन्यो शिथिल

घरै नहुने, घरबार नहुने

जीवनै नहुनेहरूको चिच्याहट गर्दै गर्दा

महसुस छैन यो मन स्थिर

भोटेकोसी आफू मात्र किन बगेन?

बग्नै पर्ने आँसु, जीवन र सभ्यता पनि

धम्कीले बगे पुल

बेहोसमा बगे शहर

कहरमै बगे आफ्नाहरू क्षणभरमा मुढाझैं बनी।

प्रकाशित: ११ भाद्र २०८३ ११:२९ बिहीबार