कला/साहित्य

भारतीय कोरियोग्राफर टेरेन्स लुइस किन आए काठमाडौं ?

भारतका चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन्।

शनिबार हुन गइरहेको  नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स नेपाल'को ग्रान्ड फिनालेमा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिका निर्वाह गर्न उनी काठमाडौं आएका हुन्।

विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै टेरेन्सले नेपाल आउन पाउनु आफ्नो लागि निकै गर्वको क्षण रहेको बताए। 

नेपालीहरूले आफैँले सिकेर पनि वर्ल्ड क्लासको नृत्य गर्ने गरेको देख्दा आफू सधैँ छक्क पर्ने गरेको उनको भनाइ थियो।

सन् २००८ मा अमेरिकी राज्य दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो विश्व स्तरीय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको छ।

शनिबार हुने ग्रान्ड फिनालेको निर्णायक मण्डलमा टेरेन्स लुइसका साथै नेपालका लेजेन्डरी ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र कलात्मक निर्देशक जेडी तमु रहनेछन्।

देशका विभिन्न पाँच सहरहरू अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले आजको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन्।

विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी प्राप्त गर्नेछन्। 

प्रकाशित: २३ जेष्ठ २०८३ १५:३४ शनिबार