कला/साहित्य

हरिवंश आचार्यले किन उठाए बलिउड कलाकार सन्जय दत्तको मुद्दा ?

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ। उक्त चलचित्र बन्ने घोषणा कार्यक्रममा हरिवंश आचार्यले बलिउड कलाकार सन्जय दत्तको जीवनमा आएका उतारचढावबारे कुरा उठाएका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठको जीवनीमा रहेर चलचित्र निर्माण हुने घोषणा गरियो। कार्यक्रममा हरिवंश र मदनकृष्णसहित उनका परिवारका सदस्य तथा उक्त चलचित्रमा काम गर्ने कलाकारको पनि उपस्थिति थियो। श्रेष्ठको जीवनीमा मात्र किन चलचित्र बन्ने सन्दर्भमा उनले बलिउड कलाकार सन्जय दत्तको प्रशंसा गर्दै भने, ‘संसारमा अर्बौँ मान्छे हुन्छन्, तर बायोपिक भन्ने सबैको बन्ने होइन। त्यस्ता कथाहरू सबैका हुँदैनन्।’

उनले उदाहरण दिँदै थपे, ‘बलिउडमा एउटा बायोपिक चलचित्र बनेको थियो सन्जय दत्तको उहाँहरू भन्दा ठुला–ठुला कलाकारहरू अमिताभ बच्चन, दिलीप कुमार उहाँहरूको बायोपिक बनेको छैन। सन्जयको बायोपिक किन बन्यो त, किनकि उनको जीवनमा यति धेरै उतार–चढाव छ।’

मदनकृष्ण श्रेष्ठको जीवनमा कैयौँ उतार–चढाव रहेको उनले उल्लेख गरे। निर्माणको तयारीमा रहेको श्रेष्ठको जीवनीमा आधारित चलचित्रको नाम ‘मदनकृष्ण’ राखिएको छ। जसमा आचार्यको पात्रलाई पनि प्रस्तुत गरिने निर्माण पक्षले जनाएका छन्।

प्रकाशित: ९ असार २०८३ १२:०१ मंगलबार