कार्तिक १३ देखि काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को तीन दिन आइतबार समापन भएको छ। विश्व सम्पदा क्षेत्र बसन्तपुरबाट सम्पदा यात्रा गर्दै सुरु गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ बौद्ध र तारागाउँ नेक्स्टको एम्पीथियटरमा पुगेर कार्तिक १५ गते समापन भएको हो। यी ३ दिनमा नेपाली पुराना चलचित्रहरु ‘के घर के डेरा’ र ‘कुमारी’ सहित सर्ट भिडियो, नेपाली पानोरामा र इन्टरनेशनल पानोरामा गरी ४० वटा चलचित्र देखाइयो।
समापन कार्यक्रम बौद्ध स्तुपाको परिक्रमा र प्रार्थनाबाट सुरु भएको थियो। त्यसपछि बौद्धबाट तारागाउँसम्म पैदल यात्रा गरिएको हो। आयोजकको अनुसार–‘सर्जकहरुलाई काठमाडौंको जनजीवनसँग परिचित गराउनु पैदल यात्राको उद्देश्य हो।’
यात्रापछि तारागाउँको एमपीथियटरमा आयोजना गरिएको समापन समारोहमा बोल्दै काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, काठमाडौंले रचनात्मक सहर सञ्जालमा आवद्ध हुँदाका बखत ४ वर्षभित्रमा एउटा फिल्म फेस्टिभल गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन्।
यसमा बोल्दै गर्दा वरिष्ठ कलाकार नीर शाहले, उच्च स्तरको महोत्सव थालनी भएको बताउँदै यसको अनुभवलाई अभिलेखन, पुस्तान्तरण र प्रवर्धन गर्नु पर्ने बताएका छन्। ‘काठमाडौं महानगरपालिकाले अहिले जे काम गरेको छ। यो काम सरकारले पहिले नै थाल्नु पर्ने थियो। तर जे होस्, ढिलै भए पनि काठमाडौंले थालनी गरेको छ। यो नै ठुलो कुरा हो।’
महानायक राजेश हमालको अनुसार–‘समाजका कथा, अवस्थिति र परिस्थिति आम दर्शकलाई सुनाउन फिल्म नै सशक्त माध्यम हो। यसको विकासका लागि महानगरपालिकाले थालेको कामले कला, साहित्य र सिर्जनालाई बचाउन योगदान दिने निश्चित छ।’
‘चलचित्र उद्योगलाई आकार दिन दक्षिण एशियाली मुलुकहरुमा नेपाल प्रचुर सम्भावना भएको ठाउँ हो । यसलाई पहिचान गरौँ । आफैँभित्रको सम्भावना खोजौँ ।’ सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले भने।
चलचित्र र कला क्षेत्रबाट प्राप्त भएको सहयोगबाट फेस्टिभल सफल भएको धारणा राख्दै क्रियटिभ डाइरेक्टर एवं क्युरेटर आयूषा श्रेष्ठ, महानगरपालिकाको इतिहासमा यो महत्वपूर्ण काम सम्पन्न भएको उल्लेख गरेका छन्।
समापन अवसरमा काठमाडौं कला परिषद्का सदस्यहरु, फेस्टिभलका सल्लाहकारहरु, आयोजनामा योगदान गर्ने विभिन्न विधाका डाइरेक्टरहरु, विभिन्न कार्यक्रममा आवद्ध साझेदारहरुलाई आभारसहित मायाको चिनो प्रदान गरिएको थियो।
प्रकाशित: १६ कार्तिक २०८३ १५:२९ सोमबार