१) मुक्तक
जति सक्यो साँच्चै उति नै डटेर लेख्नुपर्छ
हिम्मतले खुकुरीको धारमा अडेर टेक्नुपर्छ
चाहँदैमा हुने भए सबै देवकोटा हुन्थे होला!
साहित्यमा हरेक कुनाकुना खटेर देख्नुपर्छ।
२) मुक्तक
कति सपनाहरू देख्दादेख्दै बीचैमा टुटेको छ
नियतिको झेलैले गर्दा सबै खुसी नै लुटेको छ
अपरिचित जस्तो ठान्छन् रङ्गमञ्चमा मलाई!
कति फुटपाथमा मेरा पाइलाहरू छुटेको छ।
३) मुक्तक
उडेर क्षितिजसम्म पुगी बादलुलाई छुन मन छ
एकान्तमा आफ्नो चित्त आफैंले नै धुन मन छ,
उकुसमुकुस लाग्छ देख्दा मात्रै मान्छेको भिड!
म त सधैं मनोरम प्राकृतिको बीचमा हुन मन छ।
४) मुक्तक
जीवन जिउँदै गर्दा तरबारको धार टेक्दै नाचेको छु,
विवशतामा परी कयौं दु:खहरू मनमा साँचेको छु,
कायर चै नठान्नु आफ्नै दममा लड्ने एक योद्धा हूँ!
अहिलेसम्म त आगो नै पिए पनि हाँसेरै बाँचेको छु।
५) मुक्तक
धुसुरेको पातको सोली सिउँथ्यौ हामी
मिलेर हाँसीखुसीले नै जिउँथ्यौ हामी
छुट्टै आनन्द र मिठास थियौ गाउँघरमा!
पानी पनि त चिसो मुलकै पिउँथ्यौ हामी।
प्रकाशित: १४ वैशाख २०८३ ०७:२२ सोमबार

-600x400.jpg)

