कला/साहित्य

स्वभाव नै खुला आकाश भएपछि, बेकार किन यो शिर झुकाउनु छ?

मुक्तक

१) मुक्तक

न आँगनमा बिस्कुन सुकाउनु छ

न यहाँ केही स्वार्थ नै लुकाउनु छ

स्वभावनै खुला आकाश भएपछि

बेकार किन यो शिर झुकाउनु छ?

२) मुक्तक

कुनै विवादमा कतै भाग नभएको

शान्त, सन्तुलित रिसराग नभएको

सुपात्र हेर्नत निश्छल आँखा चाहियो

निर्दोष, निर्मल कुनै दाग नभएको।

३) मुक्तक

शील-सङ्कोचरहित धृष्टता

सुझबुझ नभएको अभ्यस्तता

गन्तव्य बिनाको दौड जस्तो न हो

सन्तुलन गुमेको कुनै व्यस्तता।

४) मुक्तक

आफ्नै स्वार्थमा अल्झिए विश्वका ठुला देशहरु

साझा दृष्टिकोण बिना मेटिनन् कुनै क्लेशहरु

विवादको जडलाई सम्बोधन गरौँ, हटाउँ

आउनुहोस! आँफैले सुधारौँ परिवेशहरु।

५) मुक्तक

वैँश ढल्के पनि शरीरमा अमरमन बाँकी रहन्छ

हृदयलाई स्वच्छ राख्ने आत्मिक धन त बाँकी रहन्छ

शारीरिक आकर्षण केवल एउटा बहाना मात्र हो,

घाम अस्ताए पनि धरतीमा न्यानोपन बाँकी रहन्छ।

६) मुक्तक

ज्ञानीले आफ्ना मनका कुरा व्यावहारमा बताउँछन्

साहित्यको सशक्त माध्यमबाट माहोल तताउँछन्

अज्ञानीका लागि प्राय उनिहरुको प्रतिभा बोल्दैन  

ज्ञानको दिव्य प्रकाश नबुझी यसै फतफताउँछन्।

७) मुक्तक
न हात पसारेर हिँड्न सुहाउछ

न दया गरेर कसैले खुवाउछ

दुर्दिन लाग्यो भने यो जिन्दगीसित

आफ्नै छाया बिरानो हुन्छ, रुवाउछ।

८) मुक्तक

परिधिभित्रै आफैँसँग हराइरहेछु

आफ्नै छायाँसँग लुकी डराइरहेछु  

खुसी खोज्दा भुलेँ आफैँ यो भिडभाडमा

अत्तासिएर एक्लै म कराइरहेछु।

९) मुक्तक

यो धरा प्रकृतिको काखमा कति सुसज्जित छ  

अरूको प्रगतिमा डाहा गर्ने प्राणी लज्जित छ  

मान्छेले स्वार्थमा डुबेर मानवता भुल्दा यहाँ,

आज सत्य, धर्म र आचारको बाटो वर्जित छ।

१०) मुक्तक

तीतो-मीठो बिचको औचित्य, प्रज्ञ मनको सार हो  

ज्ञानको गहिराइमा लुकेको यसको विस्तार हो  

द्वैधभाव छोडेर सत्यलाई अँगाल्न सक्ने व्यक्ति  

उः त्यही मान्छे वास्तवमा चेतनाको हकदार हो।

 

प्रकाशित: ७ श्रावण २०८३ ०९:०९ बिहीबार