झट्ट तस्वीर हेर्दा जो–कोही झुक्किन सक्छन्। रगतले लतपतिएको काटिएको हातजस्तो देखिने यो अनौठो आकृति वास्तवमा हलिउडकी चर्चित सुपरमोडल हेइडी क्लमको हेलोविन अवतार हो।
आफ्ना सिर्जनात्मक र आकर्षक पहिरनका लागि परिचित क्लमले हरेक वर्ष हेलोविनमा फरक र चकित पार्ने रूप प्रस्तुत गर्दै आएकी छन्। यस वर्ष पनि उनको अनौठो पहिरनले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म व्यापक चर्चा पाएको छ।
शनिबार अमेरिकाको न्युयोर्कमा आयोजित आफ्नो चर्चित हेलोविन पार्टीमा क्लम काटिएको हातको स्वरूपमा उपस्थित भइन्। उनको पहिरन यति वास्तविक र डरलाग्दो देखिन्थ्यो कि पार्टीमा उपस्थित सबैको ध्यान उनीतर्फ खिचिएको थियो।
यस वर्षको पार्टी क्लमको हेलोविन उत्सवको २५औँ वार्षिकोत्सवसमेत थियो। विशेष अवसरलाई थप स्मरणीय बनाउन उनले काटिएको हातको स्वरूप रोजेकी थिइन्। त्यसका लागि उनको आफ्नै हातको प्रतिकृतिजस्तै देखिने विशेष संरचना तयार गरिएको थियो।
पहिरनमा रगतले लतपतिएको नाडी, औँठी र आकर्षक नेल आर्टसमेत देख्न सकिन्थ्यो। सबैभन्दा रोचक पक्ष भने हातको बीच भागमा उनको टाउको देखिने गरी बनाइएको विशेष डिजाइन थियो।
क्लम पार्टीमा विशेष रूपमा सजाइएको ट्रक चढेर पुगेकी थिइन्। ट्रकमा रातो रङका खतरा जनाउने चिह्न राखिएका थिए। उनीसँगै पहेँलो सुरक्षा पोसाक लगाएका केही कलाकार पनि थिए, जसले उनलाई ट्रकबाट ओर्लन सहयोग गरेका थिए।
रेड कार्पेटमा सञ्चारमाध्यमसँग कुरा गर्दै क्लमले आफ्नो पहिरनलाई सकेसम्म वास्तविक र सूक्ष्म देखिने गरी तयार गरिएको बताएकी थिइन्।
हेलोविनमा हरेक वर्ष फरक र अप्रत्याशित रूप प्रस्तुत गर्ने भएकाले हेइडी क्लमलाई ‘हेलोविनकी रानी’ समेत भनिन्छ। यसअघि उनी मेडुसा, ‘ईटी’, मयूर, चलचित्र ‘श्रेक’की फियोना, जेसिका र्याबिट तथा विशाल कीरालगायतका विभिन्न अवतारमा देखिइसकेकी छन्।
अनौठा र कल्पनाशील पहिरनमार्फत हरेक वर्ष दर्शकलाई चकित पार्ने क्लमको यसपटकको ‘काटिएको हात’ अवतार पनि हेलोविनको चर्चित आकर्षण बनेको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १८:११ आइतबार