‘हनुमान अंश’ का निर्देशक विशाल चतुर्वेदीले फिल्मले बक्स अफिसमा १०० करोड रुपैयाँको आँकडा नजिकिँदै गर्दा ओटीटी प्लेटफर्मबाट अस्वीकारबारे खुलासा गरेका छन्।
२ करोड भारतीय रुपैयाँभन्दा कम बजेटमा बनेको यो फिल्म भारतमा १०० करोड रुपैयाँको आँकडा नजिक पुगेको छ भने अझै अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुन बाँकी छ।
टिमले यो सफलताको उत्सव मनाइरहेका बेला फिल्मका निर्देशक विशाल चतुर्वेदीले आफूलाई फिल्म हलमा प्रदर्शन नगरी सिधै ओटीटी प्लेटफर्ममा रिलिज गर्न सुझाव दिइएको खुलासा गरेका छन्। उनले अर्को कुराकानीमा विभिन्न ओटीटी प्लेटफर्महरूले आफ्नो फिल्मलाई ‘अपमानजनक’ भाषा प्रयोग गर्दै अस्वीकार गरेको पनि बताएका छन्।
द रौनक पोडकास्टसँगको कुराकानीका क्रममा विशाल चतुर्वेदीले भने, “धेरै मानिसहरूले हामीलाई फिल्म हलमा रिलिज नगर्न र ओटीटी प्लेटफर्मलाई बेचेर आफ्नो पैसा उठाउन सुझाव दिएका थिए। केही मानिसहरूले त एउटै विषयमा फिल्म पहिले नै बनिसकेको अवस्थामा हामीले यो फिल्म किन बनायौँ भनेर पनि प्रश्न गरे। त्यो फिल्म चलेन, त्यसैले तपाईंहरूको फिल्म पनि चल्दैन भनियो। तर म र मेरा निर्माताहरूले फिल्म हलमै रिलिज गर्ने निर्णय पहिल्यै गरिसकेका थियौँ।”
विशालले थपे, “यदि तपाईंले फिल्म हलमा रिलिज गर्नुभएन भने त्यसको सफलता कति हो भनेर मापन गर्ने कुनै तरिका हुँदैन।”
इन्डिया टिभीसँगको अर्को कुराकानीमा उनले फिल्म निर्माणको प्रारम्भिक चरणमा आफूले विभिन्न ओटीटी प्लेटफर्मसँग सम्पर्क गरेको बताए। तर “उनीहरूले कथा अस्वीकार गर्दा प्रयोग गरेको भाषा र उनीहरूले जुन तरिकाले कुरा गरे, मलाई त्यो अपमानजनक लाग्यो।” त्यसैकारण जसरिमा आफूलाई साबित गर्नु परेको उनको भनाइ छ।
अगस्ट ७ देखि प्रर्दशनमा आएको यो चलचित्रको सुरुवाति व्यापाार भने कमजोर रह्यो, यसले पहिलो दिनमा १० लाख भारतीय कमायो तर सकारात्मक प्रतिक्रियाका कारण तेस्रो साताको सुरुवातमा फिल्मले बक्स अफिसमा ठूलो उछाल ल्यायो।
अहिले फिल्म भारतमा १०० करोड रुपैयाँको आँकडा पार गर्ने नजिक पुगेको छ।
यो भक्तिमय नाटक आध्यात्मिक गुरु नीम करौली बाबाको जीवनमा आधारित छ। ‘हनुमान अंश’ डा। विशाल चतुर्वेदीले लेखेका, निर्देशन गरेका र निर्माण गरेका हुन्। फिल्ममा शोभिनव सत्याले मुख्य भूमिका निर्वाह गरेका छन्।
प्रकाशित: २० भाद्र २०८३ १५:२६ शनिबार