कला/साहित्य

किन आए बलिउड गायक नवजोत आहुजा नेपाल?

भारतीय गायक नवजोत आहुजा नेपाल आएका छन्। उनको यो पहिलो नेपाल भ्रमण हो।

 क्लब नोभाले बुधबार स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि गायक आहुजा नेपाल आएका हुन्। उक्त कार्यक्रममा उनले ‘तेरे लिए मन्दिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत थुप्रै गीतमा दर्शकलाई झुमाउनेछन्।

‘तेरे लिए मन्दिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो। यो गीत उनको खत एल्बममा समावेश छ। त्यसबाहेक उनका तू ही हूँ, खुद से मोहब्बत, इंतज़ार, मेरे हो तुम, चले गएलगायत दजनौं गीत चर्चित छ।

उनी मंगलबार पहिलोपटक नेपाल आएका हुन्। नेपाल आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालीहरूमाझ आफ्नो प्रस्तुति दिन निकै उत्सुक रहेको बताए।

उनको नेपाल बसाइ तीन दिन रहनेछ। यही दौरानमा उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलहरूको विशेष भ्रमण गर्नेछन्।

क्लब नोभाको सेलिब्रेसन कार्यक्रम बुधबार राति ९ बजे सुरु हुनेछ। क्लब नोभाको पहिलो वार्षिकोत्सव भएकोले सेलिब्रेसनमा आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएको नोभाका संस्थापक विशाल तुलाचनले बताए।

‘हामीले पहिलापटक नोभाको सेलिब्रेसन गर्न लागेका हौँ। सेलिब्रेसन कार्यक्रममा दर्शक भन्दा पनि आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएका छौं,’ उनले भने, ‘करिब ९० प्रतिशत आमन्त्रित पाहुना र १० प्रतिशत मात्र टिकट ब्रिकीका लागि राखिएको छ।’ कार्यक्रममा गायक आहुजाको मात्रै प्रस्तुति रहेको उनले बताए।

प्रकाशित: ३ भाद्र २०८३ ११:४६ बुधबार