अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’ अब १ माघमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले नयाँ प्रदर्शन मिति घोषणा गर्दै सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड पोस्टर पनि सार्वजनिक गरेको छ।
पोस्टरमा लेखिएको ‘बतासले उडाई लग्यो माया मेरो’ वाक्यले फिल्ममा दुई पात्रबीचको प्रेमकथा र भावनात्मक सम्बन्ध झल्काउँछ। सोही बोलको गीत आगामी सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ।
निर्देशक अमित श्रेष्ठले फिल्मले सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्ने बताउँदै भने, “फिल्म समसामयिक विषयमा आधारित भएकाले दर्शकले सजिलै सम्बन्धित महसुस गर्नेछन्।”
फिल्म एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, र ऋषि धमलाको पनि अभिनय देख्न सकिनेछ।
निर्माण टोलीमा अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेका छन् भने भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताको भूमिकामा छन्।
निर्माण पक्षका अनुसार, फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देशसमेत समेट्ने भएकाले ‘भाइरल गोर्खे’लाई दर्शकले उत्साहपूर्वक स्वागत गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ कार्तिक २०८२ १७:५२ सोमबार