नेपालको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
भियतनामको दा नाङ फाइन आर्ट एशोसिएसनले ८ मार्च २०२६ मा बा ना हिल्समा आयोजित विशेष कार्यक्रममा उनलाई स्वागतसहित उक्त सम्मान प्रदान गरेको हो। भियतनाममा फागुन ५ देखि चैत ४ सम्म मनाइने नयाँ वर्ष २०२६ को अवसर पारेर कल्पितलाई सम्मान गरिएको जनाइएको छ।
नेपाली साहित्य, कला तथा संस्कृतिको संरक्षण र संवर्द्धनका लागि ‘एक इट्टा अभियान’ सञ्चालन गरी बहुजातीय सांस्कृतिक सङ्ग्रहालयसहितको सुविधा सम्पन्न झापा नाटक घर निर्माणमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको संस्थाले जनाएको छ।
मलेसिया र भियतनामको एक साताको पारिवारिक भ्रमणमा रहेका कल्पितले सो अवधिमा कला, साहित्य तथा पर्यटन प्रवर्द्धनमा भियतनामले अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै विभिन्न मञ्चमा नेपालको तर्फबाट सांस्कृतिक प्रस्तुति दिएका थिए।
भियतनामका विभिन्न पर्यटकीय स्थलमा कलाकारहरूसँग गरिएको सांस्कृतिक आदान–प्रदान तथा उनले प्रस्तुत गरेका कार्यक्रमबाट प्रभावित भियतनामी कलाकारहरूले विदाइका क्रममा कल्पितलाई सम्मान गरेको क्षितिज नाट्य प्रतिष्ठान नेपालकी उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिइन ।
प्रकाशित: २८ फाल्गुन २०८२ १५:४१ बिहीबार