गोधूलि साहित्य प्रतिष्ठानले साहित्यकार तथा नागरिककर्मी श्रीराम राईलाई गोधूलि साहित्य सम्मान–२०८२ अर्पिएको छ।
नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धन र संरक्षण पुर्याएको सिर्जनात्मक तथा प्रेरणादायी योगदानको कदर गर्दै २१२ औं भानुजयन्तीको अवसरमा उनलाई गोधूलि साहित्य सम्मान–२०८२ अर्पिएको हो।
पछिल्लो समय साहित्यिक पत्रकारितामा सक्रिय राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नपा-७ सिर्जनाकुञ्जका सर्जक हुन्।
१० वर्षे शिक्षण पेशाको अनुभव सँगालेर काठमाडौं भित्रिएका राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा उत्तिकै कलम चलाउँछन्।
उनको ‘टोली नेता’ (बालकथासंग्रह, २०७४), ‘आजका लघुकथा’ संयुक्त लघुकथासंग्रह (२०७४), ‘पोलेको मकै’ (बालकथासंग्रह, २०७८) लगायतका कृति प्रकाशित छन्।
रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।
यसअघि उनी इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९) साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव २०८० को अवसरमा साहित्यिक पत्रकार सम्मानबाट सम्मानित छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममा राधेश्याम लेकाली, गंगा पौडेल कर्माचार्य, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, दीपसागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का, एन्जल्स वल्र्ड इन्टरनेशनल एकेडेमीलाई पनि गोधूलि साहित्य सम्मान–२०८२ अर्पण गरिएको हो।
प्रमुख अतिथि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ गरिएको छ। कार्यक्रममा साहित्यकार गोपीकृष्ण प्रसाईले आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताए।
त्यस्तै वरिष्ठ कवि प्रल्हाद पोखरेलले पनि आदिकविको आचार्यको योगदानबारे बोलेका थिए। वरिष्ठ कवि संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्य, पशुपति गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो।
‘गोधूलि भानु काव्योत्सव’ अन्तर्गत विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, राजु उपरकोटी, द्वारिका कुइँकेल, घनबहादुर थापा, आशीष ऐडी, रोमा लम्साल, भगवती बस्नेत, ओमकृष्ण प्रसाई, प्रकाश समिर र रश्मि रिमालले भानु समर्पित कविता, गजल तथा मुक्तक वाचन गरेका थिए।
प्रकाशित: २८ असार २०८२ २२:१६ शनिबार