चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ। सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो।
‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ।
प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण टिमले इन्टरनेसनल राइट्स बिक्री सुरु गरेको हो। सिनेमाको हाइप बढेसँगै ओभरसिज बजारबाट इन्टरनेसनल अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताए।
नेपालमा साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र त्यसको एक हप्तापछि अर्थात् साउन ८ गते (जुलाई २४) बाट अमेरिकाका विभिन्न प्रमुख शहरहरूमा एकसाथ प्रदर्शन हुनेछ।
'बिस्तारै हाम्रो सिनेमाको हाइप बढ्दैछ। हाइप बढ्दै जाँदा ओभरसिज मार्केटबाट इन्क्वाइरी पनि बढ्दैछ,' निर्देशक रिजालले भने।
यो चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा छ। चलचित्रको ट्रेलर रिलिजपछि दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्।
प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको अहिले चर्चाको केन्द्रमा बनेसँगै ‘गौंथली’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। सिनेमाको बढ्दो चर्चा र ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाका कारण अन्तर्राष्ट्रिय बजारमा यो चलचित्र ठूलो स्केलमा प्रदर्शन हुने सुनिश्चित भएको छ।
दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपाली चलचित्र क्षेत्रकै एउटा माइलस्टोन नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ।
‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ।
प्रकाशित: २७ असार २०८३ १६:१३ शनिबार

-600x400.jpg)

