कला/साहित्य

‘पेन्सन पट्टा’ लाई युनिभर्सल सर्टिफिकेट

माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणीकरण पाएको छ।

प्रमाणीकरणसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ। दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मको रनटाइम २ घण्टा ८ मिनेट छ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ। बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुखसुविधासँग जोडिने लाहुरे जीवनका पारिवारिक उतारचढाव र भावनात्मक संघर्ष फिल्मले उजागर गर्ने प्रयास गरेको छ।

पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्छ। वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन्।

अभिनेता दयाहाङ राईले फिल्मलाई नेपाली समाजसँग नजिकबाट जोडिएको कथा बताएका छन्। उनका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’ को महत्त्व थियो।

भूतपूर्व गोर्खालीको योगदानसँग जोडिएको पेन्सनले परिवारमा पार्ने प्रभाव फिल्मको महत्त्वपूर्ण पक्ष भए पनि कथा पेन्सनमा मात्र सीमित छैन। प्रेम, भावना र पारिवारिक सम्बन्धका विभिन्न तह पनि फिल्ममा प्रस्तुत गरिएको उनको भनाइ छ।

निर्देशक गुरुङले १२–१५ वर्षदेखि फिल्म निर्माणको सोच बोकेको बताएका छन्। उनका अनुसार गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा नपाउँदा उत्पन्न हुने समस्या र सम्बन्धको उतारचढाव कथामा समेटिएको छ।

धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको उनले बताएका छन्।

फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ लगायत कलाकारको अभिनय छ। फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन्।

मनोज थापा मगर, शिव बराइली र सुरज तामुले संगीत तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्।

सुरज तामु र केर डी कोइन्च लिनुच सहलेखक, राजेन्द्र मोक्तान कलरिस्ट र राजु याकचा फिल्मका कला निर्देशक हुन्।

प्रकाशित: १८ भाद्र २०८३ ११:२७ बिहीबार