नमेटिने स्मृतिहरू
विगतलाई वर्तमानले बिर्साएन
यादहरूलाई समयले मेटेन
दिन, बार ऋतु उहीँ छन्
ममताकाे ढिस्काेमा लेउ पलाएन।
फर्किएर आएछ कुसे औंसी
पिताकाे सम्झना सँगालेर
बुबा फेरि बल्झािए हजुरका यादहरू
फेरि उधिनिए सम्झनाका तरेलीहरू
फेरि छचल्किए शान्त तलाउहरू
छताछुल्ल भए परेलीहरू।
मलाई याद आयाे
बाबू ! ताते भन्दै मेरा हात समाएर
बिस्तारै पाइला सार्न उक्साएकाे
म थिग्रिएर उभिँदा
हजुर रमाएकाे
म दुखेर आँसु झार्दा
बिस्तारैबिस्तारै कपाल मुसार्ने काेमल हातहरू
अझ पनि मेराे शिरमा सलबलाउँदै छन्
बेसुरमा बाटाे बिराउँदा सम्झाउने
दिव्य वाणीहरू मेराे कानमा गुञ्जदै छन
जसकाे आज पनि उत्तिकै खाँचाे छ।
म अचानक कर्तव्य बाेझले थिचिँदा
ताते गर्दै बिस्तारै थिगार्न
अनगिन्ती पीडाले शिथिल बनाउँदा
ढाडस दिएर आँसु पुछ्न
कर्तव्य पथमा बरालिँदा
सत्मार्गकाे सबक सिकाउन आउने काेही छैन
अनि त मैले एक्लाे महसुस गरेकाे छु
अलमलमा परेकाे छु
विगतमा सापटी दिएका बासी कुराले
जीवन धानेकाे छु बुबा।
हजार चाेटि सपनामा भेट्ने जमर्काे गर्दै
हजुरकाे काखमा मुन्टाे राखेर रुने मन गरे
जुन बेला पुत्र स्नेहले
मेराे शिरमा हजुरका औंला सलबलाउन
चरण स्पर्श गरेर अँगालाे हल्न आतुर भएँ
ममताकाे भाेकाे भएर
कैयाैँ चाेट देखाउन हतारिएँ
अनजान बालक भएर
खै सपनामा समेत भेट भएन
मेरा याचनाकाे पुलिन्दा खाेल्ने माैका मिलेन
मनकाे दरबजामा पन्नापन्ना भएर
बतासकाे झाेक्कामा
कावा खाँदै छन्, अपुरा अभिलाषा।
पिताश्री
तपाईकाे फुटेका खाली पैताला र फाटेकाे दाैरा देखेर
दिक्क लाग्ने
म आज आफैँ बाउ भएपछि थाह भयाे
त्याे त सन्तानप्रतिकाे समर्पण रहेछ भनेर
तपाईकाे फुटेकाे पैतालामा मेराे भाग्य लुकेछ
फाटेकाे भाेटाेमा भविष्य पाेकिएछ
जुन पयर खाली बस्याे
मैले जुत्ता पाएँ
जुन फाटेकाे भाेटाेले मेराे आङ ढाकिदियाे
हातका ठेलाले मेरा हात मुलायम बनायाे
हजुरकाे पेट आधा भएर मेराे पेट भर्याे।
हिजाे बाउकाे सक्कल देखेर दिक्क मान्ने म
उहाँकाे फुटेकाे पैताला र फाटेकाे भाेटाे खाेज्दैछु
आधा पेट खाएर, तृप्ति हुने,
दु:खमा हासेर आफूलाई बिर्सिने
अनि सन्तानकाे खुशी खाेज्ने
त्यागकाे प्रतिमुर्ति
पिताकाे दिव्य खाेज्दैछु
तर त्याे
अपरम छ
अप्राप्य छ
असम्भव छ
तथापि बाउ ! सपनीमा भेटेर भए पनि
एकपटक छाेरा भनेर मायालु हातले
सुम्सुम्याइदिनू
विधाताले मबाट खाेसेर जहाँ राखेकाे छ
सुखले रमाउनु
यस लाेकमा जस्तै त्यहाँ पनि मेरा लागि
केही साँचिदिनु
कुनै दिन फेरि "बाउ" भन्दै आइपुग्छु
अपुरा अभिलाषा त्यही पूरा गराैला
थाती रहेका रहर खुशीले भराैला।
बुबा ! हजुरकाे भाैतिक दर्शन असम्भव भए पनि
आत्ममा सजिएकाे तस्विर
मनले हेरेर साष्टङ्ग दण्डवत्
मनकाे अनन्त गहिराइबाट
ममताकाे पवित्र मन्दिरमा सजाएर
भावनाकाे भक्तिले।
प्रकाशित: ३ आश्विन २०८३ १०:४२ शनिबार