कला/साहित्य

भर्‍याङमुनि छाताहरू

कविता

घरको छत उक्लिनलाई

यसो घुमेको भर्‍याङ छ

बुढेसकालमा त्यति उक्लिन पनि

मलाई बडो सास्ती छ

भर्‍याङमुनि छन् एक रास घाइते छाताहरू

यसो पल्टाई हेरेँ

थन्किएका रंगिबिरंगी छाताहरू

करङ मर्किएका

डन्डी टेढिएका

फेद फुस्किएका

छानो उध्रिएका छाताहरू  

 

आफू सानो हुँदा सम्झन्छु

एउटा कालो छाता हुने गर्दथ्यो

सिरानघरे बैदार बाजेको

भालाझैँ तीखो टुप्पो भएको

बाजेको इज्जत, प्रतिष्ठा  र शान जोडिएको।

 

सम्झन्छु,

बाजेले त्यही छाताले एक दिन

'तेरो जेमाराज घिन लाग्यो' भन्दै

साने दमाईको सुँगुरको आँखा घोचेर फुटाइदिएको

र सानेकी स्वास्नी धरधरी रोएको।

 

सम्झन्छु ,

रिसले साने दमाई दाँत किटिरहेको

सम्झन्छु

बिचरा जोइपोइ एकै शब्द नबोलेको।

 

उसो त छाता देख्यो कि सम्झन्छु,

छातायुद्धको त्यो घटना

मलाई खुबै हाँस उठेको

एउटा भरिया र एउटा रिक्सावालाको

छाता हानाहान परेको।

 

सम्झन्छु,

ती दुवै निर्दोष आत्माहरूले

एक अर्काको ढाडमा

चरम गरीबीले दिएको निराशा बजारिरहेको।

 

यसो हेर्छु,

भर्‍याङमुनि छन् एक रास घाइते छाताहरू

यिनलाई ठीक गर्न लैजानुपर्‍यो भन्छु  

'पर्दैन,पान्सौमा नयाँ आइहाल्छ नि!' भन्छन् घरकाहरू

जाबो पाँचसय रूपैयाँ पर्ने आयातित छाताहरू!

अनि रेमिट्यान्सबाट आउने सजिला रूपैयाँहरू !

 

यदि यिनलाई बनाउनै लैजाऊँ भने पनि

छैनन् होला चोकमा आजकल छाता बनाउनेहरू

खेदिसक्यो होला नगरप्रहरीले बडो निर्ममतापूर्वक

र लागिसके होलान् परदेश

नयाँ सरकारको द्रुतसेवामा नयाँ पासपोर्ट बनाएर

यसो हेर्छु,

भर्‍याङमुनि छन् एक रास घाइते छाताहरू।  

प्रकाशित: १० श्रावण २०८३ ११:४५ आइतबार