कला/साहित्य

कोसीकाे ‘साहित्यिक सद्भाव यात्रा’ सम्पन्न

कोसी साहित्य-कला परिषद् नेपालले दुई दिवसीय ‘साहित्यिक सद्भाव यात्रा’ गरेको छ।

भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका झापाका विभिन्न सङ्घसंस्था तथा स्रष्टालाई लक्षित गरेर यस कार्यक्रमको आयोजना गरिएको हाे।

चैत ६ गते शुक्रवारका दिन ऐतिहासिक तथा पर्यटकीय क्षेत्र विराट पोखरमा झापाली साहित्य समाज, बिर्तामोड, झापा, मुख्य आयोजक र विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समिति सहआयोजक रहेको ‘शब्द यात्रा’ कार्यक्रमको संयोजन भने कोसी साहित्य–कला परिषद् नेपालको थियो।

उक्त कार्यक्रममा झापा, मोरङ, सुनसरी र भारतका केही स्रष्टाको उपस्थिति थियो। कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि तथा स्रष्टाहरूको उपस्थिति थियो। सोही साँझ झापाली अग्रज स्रष्टा केशव आचार्यकै निवासमा संस्थाले ‘स्रष्टाका निवासमा सिर्जना उत्सव’ कार्यक्रम गरेकाे छ।

चैत ७ गते शनिवार पूर्वका साहित्यका ताराका रूपमा चिनिने भाषाविद् चूडामणि रेग्मीसँगको भेटघाट तथा आशीर्वाद ग्रहण गरेर दोस्रो दिनको साहित्यिक सद्भाव यात्रा सुरु गरेको संस्थाले सोही दिन लेखनाथ पुस्तकालय, चन्द्रगढी, झापा, त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा, सुसेली साहित्यिक परिवार, काडडभित्ता, झापा, साहित्य चौतारी, बिर्तामोड, झापा तथा साहित्य कला सङ्गम, दमक, झापा आदि संस्थाको कार्यालयमै पुगेर उनीहरूसँगको भेटघाट तथा अन्तरक्रिया गरेको छ।

यस कार्यक्रममार्फत ३ सयको हाराहारीमा भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तिहरूसँग भेटघाट गरेर उनीहरूसँग अन्तरक्रिया गरेको आयोजक संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ बताए।

यस्ता साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले साहित्यिक संस्थाका बिचको सम्बन्धको विकास मात्र नगरेर नेपाली साहित्यको विकासमा समेत विशेष योगदान दिने नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत रहेका प्राडा भीम खतिवडाको विश्वास छ।

भाषा, साहित्य, कला, तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका संस्थाहरूका बिचमा परिचय आदानप्रदान तथा सुमधुर सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई धेरैले मन पराएको संस्थाका अध्यक्ष केशु विरहीले बताए। यसलाई आवश्यकताका आधारमा निरन्तरता दिने पनि आफूहरूको योजना रहेको बताउँछन्।

उक्त साहित्यिक सद्भाव यात्रामा संस्थाका अध्यक्ष केशु विरही, उपाध्यक्ष विष्णु भण्डारी आचार्य, सचिव नवराज पोखरेल ‘नवशिला’, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले, सदस्य मनोज कार्की, साहित्य विभाग सहसंयोजक शारदा दाहाल भण्डारी तथा संस्थाका सल्लाहकारद्वय प्राडा भीम खतिवडा तथा डा. छवि वैरागी घिमिरे सहभागी थिए।

प्रकाशित: ९ चैत्र २०८२ ०८:०२ सोमबार