कला/साहित्य

‘टनेल २६’ काल्पनिक होइन वास्तविक घटनामा आधारित हो : सांगे सेल्ट्रिम

लगानीकर्ता तथा अभिनेता समेत रहेको सांगे सेल्ट्रिमको चलचित्र ‘टनेल २६’ मा ५० प्रतिशत लगानी रहेको छ।

उनले कार्यक्रमको क्रममा आफ्नो हिस्साको २५ प्रतिशत प्रधानमन्त्री दैवी कोषमा हस्तान्तरण गर्ने घोषणा गरेका छन्।

ललितपुरस्थित लबिम मलमा मंगलबार कार्यक्रमबिच चलचित्र ‘टनेल २६’ को ट्रेलर सार्वजनिक गरियो।

कार्यक्रममा नेपाललगायत भुटानका कलाकार तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो। भारत, नेपाल तथा भुटानको सहकार्यमा बनेको यो चलचित्र भुटानको एक रहस्यमय टनेलको कथामा आधारित रहेको छ।

जहाँ श्रापका कारण कैयौँ भयावह घटना भ रहेको यसको ट्रेलरमा देखाएको छ। कथामा डर, रहस्य र जोम्बीलाई प्रस्तुत गरिएको छ।

अभिनेता सांगेका अनुसार चलचित्र कुनै कल्पनामा मात्र आधारित नभइ वास्तविक कथा रहेको छ। टनेल भित्र छायांकन गर्दा उक्त स्थानमा कयौँ मानिसको कंकाल समेत भेटिएका र तर्साउने गरेको उनले बताए। ७५ दिनमा छायांकन सकाएका ‘टनेल २६’ लाई निर्माण टिमले ओटिटिमा समेत ल्याउने भएका छन्।

सांगेले भने, ‘यसलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा ल्याउने उद्देश्यले ओटिटिलाई बिक्री गरिसकेका छौँ।’ सिनेमाघरबाट चलचित्र उत्रेपछि ओटीटीमा आउन सक्ने अनुमान छ।

सांगे सेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।  

यसमा निर्माणमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता सांगे सेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ।

असोज २३ गतेदेखि ‘टनेल २६’ नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: ७ आश्विन २०८३ ११:११ बुधबार