कला/साहित्य

‘रोल नं १’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ। सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ । परिवारको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको कथा प्रस्तुत गर्दै ट्रेलरले बालमनोविज्ञानलाई देखाएको छ।

गरिब भएकै कारण कसरी विद्यार्थी छात्रवृत्ति पाउनबाट वञ्चित हुन्छन् र पहिलो हुनेको मात्रै हुने इज्जतलाई ट्रेलरमा देखाइएको छ । पुरानै सोचमा जकेडिएको समाज र त्यसले गरिबलाई दिने दुःख तथा समाज पारिवारिक र सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ।

घोकन्ते विद्याले समाजमा पारेको प्रभाव र त्यसको पछि लाग्ने अभिभावकका कारण सानासाना विद्यार्थीको बालमनोविज्ञानमा पारिरहेको प्रभावलाई मिहिन ढंगले बाबु र छोरामार्फत सिनेमाले देखाएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकार देख्न सकिन्छ।

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सहनिर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’ लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन्।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन्।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ।

प्रकाशित: २ जेष्ठ २०८३ ०६:०९ शनिबार